१८ श्रावण २०८३, सोमबार

चलचित्र ए मेरो हजुर–५ को छायाङ्कन बडीमालिकाबाट शुरु हुने



धनगढी/ धनगढीमा भएको गत फागुनको चुनावी सभामा हालका प्रधानमन्त्री बालेन्द्र शाह बालेनले स्वीजरल्याण्डको बाउ भनेको बडीमालिकामा ए मेरो हजुर–५ को छायाङ्कन हुने भएको छ ।

अभिनेत्री तथा चलचित्र निर्देशक झरना थापाले आफ्नो नयाँ चलचित्र ए मेरो हजुर–५ को छायाङ्कन श्रावण २९ गतेदेखि बाजुराको प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकाबाट सुरु हुने जानकारी दिएकी छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत अभिनेत्री थापाले सो जानकारी गराएकी हुन । हिमाल, संस्कृति, सभ्यता र श्रद्धाको अनुपम संगम रहेको बडीमालिका नेपालको धार्मिक आस्था, प्राकृतिक सौन्दर्य र राष्ट्रिय पहिचानको महत्वपूर्ण धरोहर हो। यही पवित्र भूमिबाट चलचित्रको यात्रा सुरु गर्न पाउँदा आफूहरू गौरवान्वित रहेको उनको भनाइ छ ।

उनले चलचित्रमार्फत नेपाली प्रकृति, संस्कृति र भावनालाई अझ व्यापक रूपमा दर्शकमाझ पुर्‍याउने प्रयास रहने बताउँदै सम्पूर्ण दर्शक, शुभेच्छुक र नेपाली चलचित्रप्रेमीको माया, साथ र आशीर्वादको अपेक्षा समेत गरेकी छन् ।

उनले आफ्नो फेसबुक सन्देशको अन्तिममा जय बडीमालिका, जय सुदूरपश्चिम र जय नेपाल पनि भनेकी छन् ।

हालका प्रधानमन्त्री बालेन्द्र शाह बालेनले बडीमालिकालाई स्वीजरल्याण्डको बाउ भनेकैले होला, झरनाले चलचित्र ए मेरो हजुर–५ को छायाङ्कन बडीमालिकाबाट हुने घोषणा पनि प्रधानमन्त्री शाह, अभिनेता अनमोल केसी र आफ्नो तस्बिर राखेर गरेकी छन् ।

तस्बिरहरु : गुगल र सामाजिक सञ्जालबाट


प्रतिक्रिया दिनुहोस्
ताजा समाचार