३१ बैशाख २०८१, सोमबार

उदासीपुर पूर्ण खोपयुक्त घोषणा



धनगढी । कैलालीको कैलारी गाउपालिका–८ (साविक उदासिपुर गाविस) लाई मंगलबार पूर्ण खोप घोषणा गरिएको छ ।
साविक उदासिपुरमा एक वर्षको अवधिमा एक सय ३५ नवजात शिशुलाई ११ प्रकारका सबै खोपहरू प्राप्त गरेपछि गाविसलाई पूर्ण खोप घोषणा गरिएको छ ।
वल्र्डभिजन ईन्टरनेशनल, बाल कल्याण संघ टीकापुर, साविक उदासीपुर गाविसको कार्यालयको सहयोगमा स्थानीय पूर्ण खोप समन्वय समितिले आयोजना गरेको समारोहमा कैलाली स्थानीय विकास अधिकारी केशवप्रसाद विमलीले प्रतिवद्धतापत्रमा हस्ताक्षर गरेर गाविसलाई पूर्ण खोप घोषणा गरेका हुन ।
घोषणा कार्यक्रममा बोल्दै कैलाली स्थानीय विकास अधिकारी विमलीले पूर्ण खोप घोषणा गर्न समस्या नभएको तर, दिगो राख्न चुनौती रहेको बताए । उनले पूर्ण खोप घोषणाले स्वास्थ्यकर्मी, आमा समूह, स्थानीयलाई थप जिम्मेवार बनाएको चर्चा गरे ।
कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीका वरिष्ठ जनस्वास्थ्य प्रशासक टंकप्रसाद चापागाईले खोपले बालबालिकामा रोगको संक्रमण हुन नदिने र यसले बाल मृत्युदरमा पनि कमी ल्याउन सहयोग गर्ने बताए । उनले खोपबाट वञ्चित भएका बालबालिकाहरुले अपाङ हुुनुपर्ने, मानसिक समस्या झेल्नुपर्ने, कुपोषणा लगायतका रोगबाट संक्रमित हुनुपर्ने भएकाले बालबालिकालाई रोग लाग्न नदिन र सानै उमेरमा मृत्यु हुन नदिन बालबालिकालाई खोप लगाउनुपर्ने चर्चा गरे ।
पूर्ण खोप कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ जनस्वास्थ्य प्रशासक चापागाईले पछिल्लो समय सर्नेभन्दा नसर्ने रोगबाट मानिसको मृत्युदर बढ्दै गएकाले सरकारले ‘मेरो वर्ष: म स्वस्थ, मेरो देश स्वस्थ’ अभियान सञ्चालन गरेको चर्चा गरे । उनले आफू स्वस्थ रहन धुम्रपान नगर्ने, नियमित व्यायम गर्ने, पोषणयूक्त खाना खान्छु, नियमित चेकजाँच गराउने छु लगायतका पाँच प्रतिवद्धता रहेको र यो पालना गर्न सबैलाई आग्रह गरे ।
कार्यक्रममा क्षेत्रीय स्वास्थ्य तालिम केन्द्रका प्रमुख नरेन्द्रसिंह कार्की, कैलारी गाउँपालिकाकी कार्यकारी अधिकृत चित्राकुमारी कठायत, कैलारी गाउपालिका–८ का वडा सचिव दुर्गाप्रसाद खनाल, वल्र्ड भिजनका लोकप्रसाद गौचन, पवेरा स्वास्थ्य चौकीका ईञ्चार्ज भुपेन्द्र महरा, स्वयम्सेविका रेणुकला चौधरी, आमा समूहका फूलकुमारी चौधरी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
उदासीपुर प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष विनोद चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्राथमिक स्वास्थ्य केन्द्रका ईञ्चार्ज डाक्टर सन्तोषकुमार गाइतले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन गाविसका प्राविधिक निर्मल चौधरीले गरेका थिए ।
कार्यक्रममा आमा समूह, महिला स्वयम्सेविका, भलमन्सा, वडा नागरिक मञ्चका संयोजक लगायतलाई पूर्ण खोप घोषणा गर्ने कार्यक्रममा योग्दान पुर्‍याएको भन्दै सम्मानपत्र सहित सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार