२० बैशाख २०८१, बिहीबार

मुटु परीक्षण शिविर



धनगढी । नेपाल हृदयरोग निवारण प्रतिष्ठानको आयोजनामा सञ्चालित नि:शुल्क मुटु परीक्षण शिविर बिहीबार समापन भएको छ ।
धनगढी र अत्तरियाका ११ सरकारी विद्यालयमा सञ्चालन गरिएको शिविरमा छ हजार पाँच सय विद्यार्थीको मुटु जाँच गरिएको जनाइएको छ ।
मुटुको स्क्रिनिङ र इको गरेका विद्यार्थीहरूमध्ये २८ जनाका मुटुको समस्या रहेको देखिएको छ । शिविरमा सेवा प्रदान गरेका डाक्टर प्रकाशराज रेग्मीका अनुसार चार जनाको जन्मजात मुटुमा प्वाल परेको, दुई जनाको तत्काल शल्यक्रिया गर्नुपर्ने र २२ जनामा अन्य समस्या देखिएको छ ।
बरिष्ठ मुटुरोग विशेषज्ञ डा. रेग्मी नेतृत्वको विशेषज्ञ टोलीले बुधबार धनगढीस्थित पञ्चोदय मावि, त्रिभुवन मावि बोराडाँडी, सरस्वती मावि मनेहरा, राष्ट्रिय मावि उत्तरबेहडी, राष्ट्रिय निमावि तारानगर र धनगढी मावि धनगढी गाउँमा र बिहीबार सरस्वती मावि गेटा, दुर्गालक्ष्मी मावि अत्तरिया, गुह्रेश्वरी मावि अत्तरिया र सुप समावेशी प्रावि अत्तरिया र शारदा मावि धनगढीका विद्यार्थीहरूको बाथ मुटु रोग निदानका लागि मुटुको स्क्रिनिंङ र आवश्यक भएकाहरूलाई इको सेवा प्रदान गरेको हो ।
नेपाल हृदयरोग निवारण प्रतिष्ठान केन्द्रीय कार्यालयको प्राविधिक सहयोग र कैलाली शाखाको व्यवस्थापनमा सो शिविरको आयोजना गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार