५ जेष्ठ २०८१, शनिबार

अञ्चल अस्पतालमा फार्मेसी सञ्चालन हुँदै



फाइल तस्बिर

धनगढी । धनगढीमा रहेको सेती अञ्चल अस्पतालले फार्मेसी सञ्चालनका लागि टेण्डर आह्वानमा परेका आवदेनमध्ये तीन वटा कम्पनीको टेण्डर स्वीकृत भएको छ । अब एक हप्ताभित्र अस्पतालले फार्मेसी सञ्चालन हुने जनाइएको छ ।
सात सय प्रकारका औषधीका लागि टेण्डर आह््वान गरिएकोमा पाँच सय औषधीका लागि मात्रै टेण्डर परेको छ । टेण्डर स्वीकृत भएका तीन वटै कम्पनीलाई सम्झौताका लागि पत्राचार गरिएको सेती अञ्चल अस्पतालले जनाएको छ ।
फार्मेसी सञ्चालनका लागि यशोदा फार्मेसी धनगढी, ड्रग सेन्टर धनगढी र डिवि मेडिसिन धनगढीको टेण्डर स्वीकृत गरिएको सेती अञ्चल अस्पतालका स्टोरकिपर जीतबहादुर शाहले बताए । उनले फार्मेसी सञ्चालनका लागि औषधि र्‍याक, कम्प्युटर र्‍याक, कर्मचारी व्यवस्थापन लगायतका आन्तरिक तयारी पूरा भएको बताए ।
फार्मेसी सञ्चालनका लागि स्वाथ्य मन्त्रालयले गत पुसमा सेती अञ्चल अस्पताललाई १५ लाख रुपैयाँ र सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति (स्वास्थ्य बिमा कार्यक्रम) ले १० लाख गरी २५ लाख अनुदान उपलब्ध गराएको थियो । अस्पताल व्यवस्थापन समितिले ३१ लाख थप गरी ५६ लाखको लागतमा फार्मेसी सञ्चालन गर्न लागेको छ ।
मन्त्रालयले गत चैत मसान्तभित्रै फार्मेसी सञ्चालन गरिसक्नुपर्ने परिपत्र गरे पनि अस्पतालले चासो नदेखाएकोले फार्मेसी सञ्चालनमा आउन ढिलाइ भएको देखिन्छ । फार्मेसी सञ्चालनका लागि आह््वान गरिएको टेण्डर स्वीकृत भएसंगै अस्पतालले अबको एक हप्तामै फार्मेसी सञ्चालनमा ल्याउने तयारी गरेको अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर अशोक श्रीपाइलीले बताए । उनले केही दिनभित्र टेण्डर स्वीकृत भएका कम्पनीहरूले औषधि ढुवानी गर्ने र एक हप्तामै अस्पतालमा फार्मेसी सञ्चालनमा आउने दाबी गरे ।
सेती अञ्चल अस्पतालमा फार्मेसी सञ्चालनमा आएको अवस्थामा बिरामीले सुपथ मूल्यमा गुणस्तरीय औषधी प्राप्त गर्ने सक्ने मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीपाइलीले बताए । फार्मेसी सञ्चालनका लागि मन्त्रालयले सुरुमा अुनदान रकम उपलब्ध गराउने र पछि फार्मेसीको आम्दानीबाट निरन्तरता दिनुपर्ने प्रावधान रहेको छ । अस्पताल परिसरभित्रै फार्मेसी सञ्चालन भएपछि आम बिरामीलाई सहज र सुलभरूपमा औषधि उपलब्ध हुने र अस्पतालको आम्दानी पनि बढ्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार