५ जेष्ठ २०८१, शनिबार

समर टिप्सः कस्तो पहिरन लगाउने ? कसरी देखिने कुल ?



मौसमी परिवर्तनसँगै तन्नेरीको फेसन बद्लिन्छ । हेयरस्टाइल बद्लिन्छ । खानपान बद्लिन्छ । समग्र जीवनशैली बद्लिन्छ ।
यति बेला समर सिजन सुरु भइसकेको छ । दिनहुँ मौसमी तापमान बढ्दैछ । जति गर्मी बढ्यो, उत्तिनै आफ्नो लुगा बोझिलो लाग्छ । पसिनाले निथ्रुक्क हुन्छ । पसिना र धूलो धुँवाले शरीरमा गन्ध आउन थाल्छ । यावत् समस्याबाट कसरी पार पाउने ? कस्तो पहिरन लगाउने ? कसरी कुल देखिने ?
यहाँ केही टिप्स पस्किएको छ, जो समरका लागि उपयोगी हुनसक्छ ।

कलरफुल र हल्का परिहन
फेसनविज्ञले समरको लागि कलरफुल परिहन सिफारिस गर्छन् । यो वसन्त ऋतुको मौसम पनि हो । यति बेला चारैतिर हरियाली हुन्छ, रंगबिरंगी फुलहरू ढकमक्क फुल्छ । प्रकृतिको यस्तो पृष्टभूमीमा कम्बिनेसन मिलाउन कलरफुल पहिरन उपयोगी हुन्छ ।
१. यो सिजनमा ब्राइट कलर उपयुक्त हुन्छ । यसले घामको किरणलाई परावर्तन गरेर सितलता प्रदान गर्छ ।
२. स्टाइलिस देखिने चक्करमा फिटिङ्स लुगा लगाउनु हुन्न । यति बेला लुज पहिरनले सुहाउदो र ट्रेन्डी देखिन्छ ।
३. गर्मीमा धेरै पसिना आउने नै भयो । पसिनाको दुश्प्रभावबाट बच्न सुतीको पहिरन उपयोगी हुन्छ ।

यसरी देखिने कुल
गर्मीमा गाढा अध्याँरो रङ्गको पहिरन पटक्कै सुहाउँदैन । त्यस्तो पहिरनले भद्दा देखिन्छ । हल्का, उज्यालो पहिरन, सनग्लास, छोटो केसले गर्मीमा कुल लुक्स प्रदान गर्छ ।
१. गर्मीको सिजनमा जाडोमा भन्दा चाडै लुगा मैला देखिन्छ, पसिनाको कारण दुर्गन्ध फैलन्छ । यसबाट बच्न सरसफाईमा विशेष ध्यान दिनुपर्छ ।
२. केस तथा दाह्री जुँगा लामो राख्दा अलि भद्दा देखिन्छ । त्यसैले सम्भव भएसम्म त्यसलाई छोट्याउने ।
३. प्रत्येक दिन चिसो एवं सफा पानीले नुहाउने गर्नाले पसिनाको दुर्गन्ध आउने समस्य कम हुन्छ ।

छाला र केसको सौन्दर्य जोगाउन
चर्को घामले छालाको सौन्दर्यमा सोझो असर गर्छ । यति बेला सुख्खा हावा चल्ने, धूँवा धुलो उड्ने भएकाले केस, अनुहार तथा हात, खुट्टाको छाला जोगाउनुपर्छ ।
१. गर्मीमा घर बाहिर निस्कनुअघि लुगाले नछोप्ने खुला भागमा सन प्रोटेक्सन क्रिम लगाउनु पर्छ ।
२. सकेसम्म पुरै शरीर ढाक्ने पहिरन लगाउनु पर्छ । यसले गर्दा घामको सोझो प्रभाव छालामा पर्दैन । सनग्लासको प्रयोगले आँखाको सुरक्षा त गर्छ नै फेसनेवल पनि देखाउँछ ।
३. समर सिजनमा घर बाहिर हिँडडुल गर्दा छाता ओड्नु पर्छ, जसले घामको किरण सोझै अनुहार तथा शरीरको खुला भागमा पर्दैन ।

कुल देखिने घरेलु काइदा
गर्मीमा आफ्नो सौन्दर्य र स्वास्थ्यलाई विशेष ख्याल गर्नुपर्छ । यसका लागि पर्याप्त पानी पिउने, ताजा फलफुलको सेवन गर्ने । गर्मीमा शरीरलाई पानीको आवश्यक्ता धेरै हुन्छ । यसबाहेक केही घरेलु काइदा छन्, जसले गर्मीमा कुल लुक्स पस्कन मद्दत गर्छ ।
१. काक्रालाई स्लाइस गरेर आँखामा राख्नुपर्छ । यसले गर्दा आँखामा ताजगी महसुस गर्न सकिन्छ ।
२. गोलभेडा छालाको लागि एकदमै फाइदाजनक हुन्छ । यसमा एन्टिअक्सिडेन्ट पाइने भएकाले गोलभेडाको प्रयोगले पनि छाला चम्किलो र स्वस्थ्य हुन्छ ।
३. गोलभेडालाई काटेर त्यसको टुक्राले अनुहारमा रगड्नु पर्छ, त्यसपछि सफा पानीले धुनुपर्छ ।

यसरी रहने फिट एन्ड फाइन
गर्मीमा कुनै पनि रोगको संक्रमण चाडै फैलन्छ । यसबाट जोगिने माध्याम भनेको सरसफाई र खानपान हो ।
१. गर्मीमा धेरै पसिना आउने भएकाले शरीरमा पानीको मात्रा कम हुन्छ । त्यसैले पर्याप्त पानी पिउनुपर्छ । मौसमी फल र ताजा सलादको सेवन पनि लाभयदाक मानिन्छ ।
२. यस सिजनमा खानेकुराहरु चाडै सड्छ । यसरी सडेगलेको, बासी खानेकुराको सेवनवाट वच्नुपर्छ । गर्मीमा खानेकुराहरु सजिलै पच्न सक्दैन, त्यसैले सुपाच्य, फाइबरयुक्त खानेकुराको सेवन उपयुक्त हुन्छ ।
३. सम्भव भएसम्म घर बाहिरको खानेकुरा नखानु राम्रो हुन्छ । फुटपाथमा खुला राखिएको खानेकुरा सेवन गर्दा स्वस्थ्यमा असर पर्न सक्छ ।

-एजेन्सी

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार