१० श्रावण २०८१, बिहीबार

विश्व क्षयरोग दिवस, विविध कार्यक्रमसहित मनाइयो



धनगढी  ।  विश्व क्षयरोग दिवस शुक्रवार कैलाली लगायत देशै भरी विभिन्न जनचेतनामूलक कार्यक्रमसहित मनाइएको छ ।
हरेक वर्ष क्षयरोग निवारणका लागि विभिन्न कार्यक्रम गर्दै मार्च २४ तारिखका दिन यो दिवस मनाउने गरिएको छ । ‘क्षयरोग अन्त्यका लागि सङ्गठित हौँ’ भन्ने नाराका साथ शुक्रवार जिल्ला जनस्वास्थ्य कार्यालय, कैलालीको आयोजनामा विभिन्न कार्यक्रम भएका थिए ।
सो क्रममा सेती अञ्चल अस्पतालमा रहेका क्षयरोगका बिरामीहरूलाई फलफुल वितरण गरिएको थियो ।
त्यस्तै, छ वटा नर्सिङ कलेजको सहभागितामा हाजिरीजवाफ प्रतियोगिता भएको थियो । प्रतियोगितामा शैलेश्वरी फारवेष्ट नर्सिङ कलेज प्रथम, भागेश्वर हेल्थ एण्ड साईन्स कलेज द्वितीय र फारवेष्ट टेक्निकल कलेज तृतीय भएका थिए ।
प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो भएका टिमलाई क्रमशः: तीन हजार, दुई हजार र एक हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो । सुदूरपश्चिम क्षयकुष्ठ रोग निरीक्षक मनोज ओझाले पुरस्कार वितरण गरेका थिए ।
विश्व कुष्ठरोगका अवसरमा नै जिल्ला जनस्वास्थ्य कार्यालय, कैलालीमा पत्रकारहरूसंग छलफल कार्यक्रम भएको थियो ।
कार्यालयका निमित्त प्रमुख खगेन्द्र शाहीको अध्यक्षतामा भएको सो कार्यक्रममा क्षयकुष्ठ सुपरभाईजर दीपेन्द्र जोशीले जिल्लामा क्षयरोगीको अवस्थाबारे जानकारी गराएका थिए । उनका अनुसार चालू आर्थिक वर्षको कात्तिक महिनासम्म एक सय ३३ महिला र दुई सय ३३ पुरुष गरी तीन सय ६६ जना नयॉ क्षयरोगीका बिरामी दर्ता भएको बताए । उनले औषधी प्रतिरोधी क्षयरोगका ६४ जना बिरामी हाल उपचारमा रहेको बताए ।
सक्रिय खालको क्षयरोग भएको व्यक्तिमा लगातार खोकी लाग्ने, खकारमा रगत देखिने, छाती दुख्ने, ज्वरो आउने, राति पसिना आउने, थकाई लाग्ने, तौल कम हुँदै जाने जस्ता समस्या केही दिन या केही महिनासम्म देखिन्छ । यस्तो बेला तत्काल परीक्षण गराएर औषधी सेवन गरेमा रोगबाट जोगिन सकिने चिकित्सकहरूको सुझाव छ । क्षयरोग सजिलै उपचार हुने रोग भएकाले रोग लागेको थाहा हुने बित्तिकै नियमित औषधी सेवन गर्न पनि चिकित्सकहरूको सल्लाह छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार