१६ चैत्र २०८०, शुक्रबार

स्वास्थ्य बिमामा सहभागिता बढ्दै



धनगढी । बिहीबार कैलालीमा नौ परिवार सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम (स्वास्थ्य बिमा) मा सहभागी भए । सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले बिहीबार सेती अञ्चल अस्पतालमा आयोजना गरेको स्वास्थ्यकर्मीको नाम दर्ता कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. अशोक श्रीपाईली, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रिता भण्डारी (बम), मानसिक रोग विशेषज्ञ डा. सुरजप्रसाद तिवारी सहित नौ परिवारका ४० जनाले स्वास्थ्य बिमामा नाम दर्ता गराएका हुन् ।
अस्पतालले गुणस्तरीया सेवा नदिने, बिरामीहरूलाई हेलचत्र्याई गर्ने लगायतका गुनासोहरू बढ्दै गएपछि अस्पतालका स्वास्थ्यकर्मीहरूलाई बिमा कार्यक्रममा नाम दर्ता गराई जिम्मेवार बनाउन उक्त कार्यक्रम आयोजना गरिएको थियो ।
‘हामी अस्पतालमा आउने बिरामीलाई स्वास्थ्य बिमा गर्न सल्लाह त दिन्छौं, कुनै बिरामीले हामीलाई ‘तपाईँले स्वास्थ्य बिमा गर्नुभएको छ कि छैन ?’ भनेर प्रश्न गरेमा हामीले के उत्तर दिने ?’ मेसु श्रीपाईलीले भने ‘बिरामी र सर्वसाधारणलाई यो कार्यक्रममा सहभागी गराउन पनि हामीले पनि अनिवार्य स्वास्थ्य बिमा गर्नुपर्छ ।’ उनले बिमा कार्यक्रममा सहभागी हुन दुई हजार पाँच सय तिर्न कठिनाइ नहुने तर, यसबाट विमित्तहरूले धेरै फाइदा लिन सक्ने बताए ।
उनले कार्यक्रम सुरु गर्दा कमी कमजोरी अवश्यनै हुने तर, कमी कमजोरीलाई सच्याउँदै अघि बढेमा प्रभावकारी बनाउन सकिने बताए । उनले बिमा कार्यक्रममा आफूले नाम दर्ता गराएपछि कार्यक्रमलाई प्रभावकारी बनाउन पनि आफूलाई जिम्मेवार बनाएको बताए ।
कार्यक्रममा कैलाली स्थानीय विकास अधिकारी केशवप्रसाद विमलीले स्वास्थ्यकर्मीहरूले बिमा कार्यक्रममा नाम दर्ता गराएमा सर्वसाधारणलाई सेवामा आकर्षण गर्न सकिने र अस्पतालहरूले प्रदान गर्ने सेवालाई गुणस्तर बनाउन सकिने बताए ।
समाजिक स्वास्थ्य विकास समिति कैलालीका अनुसार जिल्लामा हालसम्ममा एक हजार सात सय ६४ घरपरिवार गरी नौ हजार दुई सय ७० सदस्यले बिमा कार्यक्रममा सहभागिता जनाईसकेका छन् ।
यस जिल्लामा हालसम्म टीकापुर अस्पतालबाट एक हजार तीन सय १०, सेती अञ्चल अस्पतालबाट सात सय २२, भजनी प्राथमिक स्वास्थ्य केन्द्रबाट छ सय ९४, चौमाला प्राथमिक स्वास्थ्य केन्द्रबाट एक सय ५६, जोशीपुर प्राथमिक स्वास्थ्य केन्द्रबाट ९४, उदाशीपुर प्राथमिक स्वास्थ्य केन्द्रबाट ३५ र मालाखेति अस्पताल ३१ विमित्तहरू लाभान्वित भएको समितिले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार