१४ बैशाख २०८१, शुक्रबार

फागुन ७ र ८ मा पोलियो थोपा खुवाइने



धनगढी । जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीले ‘विशेष खोप कार्यक्रम’ सञ्चालन गर्ने भएको छ ।
कार्यालयले बालबालिकालाई पोलियोको जोखिमबाट जोगाउन फागनु ७ र ८ गते पाँच वर्षमुनिका एक लाख १६ हजार आठ सय ४६ बालबालिकालाई पोलियो खोप लगाउने कार्यक्रम रहेको जनाइएको छ ।
कार्यालयले ७ गते जिल्लाका पाँच सय ८० खोप केन्द्रबाट बालबालिकालाई पोलियो थोपा खुवाउने छ भने ८ गते घरदैलो अभियान गर्ने जनाएको छ ।
नेपालले सन् २०१० मा पोलियो उन्मुलनको प्रमाणपत्र पाए पनि पाकिस्तान र अफगानिस्तानमा अझै पोलियो देखिएकाले नेपालमा पनि उच्च जोखिमको महसुस गर्दै जोखिमयुक्त जिल्लामा छनोट गरी कार्यक्रम गर्न लागिएको वरिष्ठ जनस्वास्थ्य प्रशासक टंकप्रसाद चापागाईले जानकारी दिए । नेपालले विश्व स्वास्थ्य सङ्गठनबाट सन् २०१४ मा पोलियो रोग शून्य रहेको प्रमाणपत्र पनि प्राप्त गरेको छ । युनिसेफले भ्याक्सिनको सहयोग गर्ने बताइएको छ । विश्व स्वास्थ्य सङ्गठनले एक करोड ५० लाख, सरकार र दाताको संयुक्त कोषको एक करोड १० लाख रुपैयाँ खर्च हुने स्वास्थ्य मन्त्रालय बाल स्वास्थ्य महाशाखाका खोप शाखाका कार्यक्रम अधिकृत वसन्त श्रेष्ठले बताए ।
विश्वले सन् २०१८ मा विश्वबाटै पोलियो रोग उन्मूलन गर्ने लक्ष्य राखेको छ । स्वास्थ्य सङ्गठनका अनुसार हाल पाकिस्तान र अफगानिस्तान बाहेक अन्य देशमा पोलियो देखिएको छैन । सरकारले कैलाली सहित सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, रौतहट, पर्सा, बारा, कपिलवस्तु, बाँके, बर्दिया, काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लामा यो कार्यक्रम गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार