क्यानाडामा ‘नेपाल हेरिटेज डे’ घोषणा (भिडियो सहित)
भ्यानकुभर (क्यानाडा) , मे २९ / क्यानाडाको ब्रिटिस कोलम्बिया (बीसी) प्रान्तीय सरकारले औपचारिक रूपमा “नेपाल हेरिटेज डे” घोषणा गरेको छ । अबदेखि हरेक वर्ष मे २९ लाई नेपाली सांस्कृतिक सम्पदा दिवसका रूपमा स्थायी रूपमा मनाइने भएको हो ।
यो घोषणासँगै क्यानाडामा बसोबास गर्ने नेपाली समुदायले ऐतिहासिक उपलब्धि हासिल गरेको भन्दै खुसी व्यक्त गरेका छन् । नेपाल हेरिटेज डेले नेपाली भाषा, संस्कृति, परम्परा तथा सगरमाथासहित नेपालको पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ ।
यसअघि बिहीबार भिक्टोरियास्थित बीसी लेजिस्लेटिभ एसेम्ब्ली (संसद् भवन) मा आयोजित विशेष कार्यक्रममा क्यानाडाका लागि नेपालका राजदूत भरतराज पौड्याल र नेपाल कल्चरल सोसाइटी अफ ब्रिटिस कोलम्बिया (एनसीएसबीसी) का अध्यक्ष राजु भट्टराईको नेतृत्वमा पुगेको नेपाली प्रतिनिधिमण्डललाई राजकीय सम्मानका साथ स्वागत गरिएको थियो ।
सो अवसरमा बीसी सरकारका रोजगार तथा आर्थिक विकास मन्त्री रविन्दर कहलोन, उप–प्रिमियर तथा अटर्नी जनरल निकी शर्मा, खानी तथा क्रिटिकल मिनरल्स मन्त्री जग्रुप ब्रार, सांसद अम्ना शाह तथा अन्य उच्च अधिकारीहरूसँग भेटघाट र छलफल भएको थियो । संसद् भवन बाहिर ब्रिटिस कोलम्बियाको प्रान्तीय झण्डासँगै नेपालको राष्ट्रिय झण्डा पनि फहराइएको थियो ।

बीसी सरकारका मन्त्रीहरूले नेपाली समुदायलाई “ब्रिटिस कोलम्बियाको अमूल्य सम्पत्ति” को संज्ञा दिँदै शिक्षा, व्यवसाय र बहुसांस्कृतिक समाज निर्माणमा नेपालीहरूले पुर्याएको योगदानको प्रशंसा गरेका थिए ।
कार्यक्रममा बोल्दै ब्रिटिस कोलम्बियाका अध्यक्ष भट्टराईले यो उपलब्धि नेपाली समुदायको वर्षौंको निरन्तर प्रयास, त्याग र एकताको प्रतिफल भएको बताए । उनले नेपाली भाषा र संस्कृतिलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न अझ संगठित हुनुपर्ने आवश्यकता औल्याए।
नेपाल हेरिटेज डे घोषणा भएपछि भोलि मे ३० मा भ्यानकुभरको सर्रेस्थित ताज पार्क कन्भेन्सन सेन्टरमा भव्य “नेपाल हेरिटेज डे सेलिब्रेशन गाला” आयोजना गरिने भएको छ ।
कार्यक्रममा बीसीका प्रिमियर डेभिड एबी, नेपालका राजदूत भरतराज पौड्याल, संघीय सांसद सुख धालिवाल, सर्रेकी मेयर ब्रेन्डा लकसहित ७०० भन्दा बढी नेपाली तथा बहुसांस्कृतिक समुदायका प्रतिनिधिको सहभागिता रहने आयोजकले जनाएको छ ।
कार्यक्रमका सम्पूर्ण टिकट हप्तौँअघि नै बिक्री भइसकेका छन् । आयोजकका अनुसार यसले नेपाली समुदायप्रतिको आकर्षण र उत्साह उच्च रहेको पुष्टि गरेको छ ।

र, यो पनि पढ्नुस




