क्यानडाको प्रान्तिय सभामा नेपालीलाई स्वागत, मे २९ मा नेपाल डे मनाइने

ब्रिटिस कोलम्बिया प्रान्तिय सरकारका खनिजमन्त्री जग्रुप बरार प्रान्तिय सभामा बोलेर नेपाली समुदायलाई स्वागत गर्दे
काठमाडौ, मंसिर ४ गते/ क्यानडाको ब्रिटिस कोलम्बिया राज्यको प्रान्तिय सभामा नेपाली समुदायद्धारा गठित नेपाल कल्चर सोसाइटी अफ ब्रिटिस कोलम्बिया र हिन्दु , बुद्धिस्ट अफ फाउन्डेशन क्यानडाका प्रतिनिधिलाई विशेष आमन्त्रण गरेको छ ।
मंगलबार ब्रिटिस कोलम्बिया प्रान्तिय सरकारका खनिजमन्त्री जग्रुप बरारले प्रान्तिय सभामा बोल्दै नेपाली समुदायलाई स्वागत गरेका थिए । उनले नेपालीहरुले कोलम्बियामा गरेको सांस्कृतिक योगदानको प्रशंसा गरे ।
उनले भने कोलम्बियामा राज्यका विभिन्न शहरमा बस्ने नेपालीले सांस्कृतिक विविधितापूर्ण र समृद्ध बनाउन महत्वपूर्ण योगदान गरेका छन् ।

प्रान्तिय सभामा नेपाल कल्चर सोसाइटी अफ ब्रिटिस कोलम्बिया अध्यक्ष राजु भट्टराई , उनकी श्रीमती मधु भट्टराई , सदस्य शंकर भण्डारी र उनकी पत्नी, हिन्दु – बुद्धिस्ट अफ फाउन्डेशन क्यानडाका सचिव परासर मल्ल, राज सिग्देल लगायतलाई स्वागत गरिएको थियो । फाउन्डेसनका अध्यक्ष मधुसुधन आचार्य भने मातृ शोकमा नेपाल आएकोले कार्यक्रममा सहभागी हुन नपाएको बताइएको छ ।
नेपाल कल्चर सोसाइटी अफ ब्रिटिस कोलम्बियाका अध्यक्ष भट्टराईले ‘सन १९५३ मे २९ मा सगरमाथाको प्रथम आरोहण भएको दिनलाई सम्झेर सन् २०२६ मे २९ को दिन नेपाल डे मनाइने प्रस्ताव त्यहाँका प्रिमियर (मुख्मन्त्री) डेभिड रोवर्ट पैट्रिक एबी, श्रममन्त्री रबी कालो, प्रान्तिय सभाका सदस्य, प्रान्तिय संसदका सचिव आम्ना साह गरिरहेका छन् । सो प्रस्तावलाई उनीहरुले ध्यानपूर्वक सुुनेर कार्यान्वयनको चरणमा छन् ।
ब्रिटिस कोलम्बिया राज्यको प्रान्तिय सभामा हुने नेपाल डे मनाउनका लागि अझै दुईवटा छलफल गर्न बाँकी रहेको अध्यक्ष भट्टराईले बताए ।
प्रान्तिय सभा र प्रदेश सरकारले आफूहरु (नेपाली समुदाय ) लाई दिएको सम्मान र विश्वासले नेपालीका गतिविधी ठिक छन् भन्ने त भयो नै उनीहरु नेपाल डे मज्जाले मनाउन तयार छन् भन्ने संकेत हो अध्यक्ष भट्टराईले भने नेपाल डे मनाएपछि नेपाली भाषा, संस्कृतिले सरकारी मान्यता त पाउछ नै नेपालीको पहिचान पनि मजबूद भएर स्थापित हुनेछ ।
राज्यको तर्फबाट मान्यता दिइएको नेपाल डे हरेक वर्षको मे २९ मा मनाइने छ । ब्रिटिस कोलम्बिया प्रदेश सरकारले सो क्षेत्रमा बस्ने अरु देशका नाममा डे मनाइता पनि नेपालको डे पहिलो पटक मनाउन थालिएको हो ।
नेपाली समुदायले निजीस्तरबाट नेपाल डे मनाइएता पनि सरकारी आयोजना र समन्वयमा आयोजनामा पहिलो पटक हुन थालेको हो । २०१३ देखि ब्रिटिस कोलम्बिया राज्यमा बसेर विभिन्न उद्यममार्फत ४० जनालाई रोगजारी दिइरहेका अध्यक्ष भट्टराईसहितको लगातारको पहलले प्रदेश सरकार नेपाल डे मनाउन तयार भएको हो ।
नेपाल कल्चर सोसाइटी अफ ब्रिटिस कोलम्बियाले नेपाली समुदायलाई सार्वजनिक रुपमा सोधेर सगरमाथा आरोहणकै दिनलाई नेपाल डे बनाउने तयारी गरेको हो । हामीले नेपाली समुदायलाई सोध्यौ सबैले सगरमाथा आरोहणकै दिनलाई नेपाल डे बनाउने सहमति दिनुभयो ,अध्यक्ष भट्टराईले बताए ।
सन् २०२६ नेपाल र क्यानडाको कूटनीतिक सम्बन्ध ६१ वर्षको पुगेको वर्ष पनि हो त्यसैले पहिलो नेपाल डे को महत्व अझ धेरै हुने अध्यक्ष भट्टराईको भनाइ छ ।
सन् १९६५ जनवरी १८ को दिनमा तत्कालीन नेपालका राजा महेन्द्रको शासनकालमा नेपाल र क्यानडाको कूटनीतिक सम्बन्ध स्थापना भएको हो ।
सन् २०२१ को क्यानडाको जनगणना अनुसार २१ हजार नेपालीको त्यहाँ बसोबास छ । यद्यपी विद्यार्थी तथा अरु विभिन्न भिजामा क्यानडा पुग्नेहरूको संख्या जोड्दा हजारौँ पुग्ने सक्ने अनुमान छ ।




