३० चैत्र २०८१, आईतवार

बित्थडचिरमा तेस्रो कमल स्मृति भलिबल प्रतियोगिता सुरु



बझाङ : बझाङको बित्थडचिर गाउँपालिकामा तेस्रो कमल स्मृति डेउडा सर्जक सम्मान तथा भलिबल प्रतियोगिताको सुरु भएको छ । कमल स्मृति क्लबको आयोजना तथा वडा नम्बर ४ को मुख्य प्रायोजनमा बिहिबार देखि प्रतियोगिता देउलेखमा सुरु भएको हो ।

प्रतियोगिताको उद्घाटन एमालेका केन्द्रिय सदस्य तथा संविधान सभा सदस्य अफिलाल ओखेडाले गरेका हुन् । प्रतियोगिता उद्घाटन समारोहका प्रमुख अतिथि ओखेडाले स्वर्गीय कमल बोहरा प्रति श्रदासुमन व्यक्त गर्दै जिउँदो हुँदा जसले समाजका लागी योगदान गरे उनकै इतिहास लेखिने बताए ।

क्लबले आयोजना गरेको यस प्रतियोगिताले खेलाडी उत्पादन गर्ने र युवाहरुलाई समाजका सकरात्मक काममा जागरुक बनाउने बताए । उनले यो इतिहासिक दिन भएकोले बित्थडचिरले कमललाई सम्झिरहेको बताए ।

यस्तै कार्यक्रमका बिशिस्ट अतिथि नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा वडा नम्बर ४ का वडाध्यक्ष कलक बोहराले २०७९ सालमा यसक्षेत्रका होनहार युवा गुमाएको भन्दै स्वर्गीय कमल बोहराको स्मृतिमा श्रद्धाञ्जली व्यक्त गरे । साथै प्रतियोगिता सभ्य भव्यताका साथ सम्पन्न हुने विश्वास व्यक्त गरे ।

यस्तै नेकपा एमाले बित्थडचिर गाउँपालिका कमिटी अध्यक्ष दिपेन्द्र बोहराले कार्यक्रमको अध्यक्षता ग्रहण गरेका थिए । उनले बित्थडचिरका डेउडा सर्जकको सम्मान तथा खेलाडीहरुको क्षमता विकासको लागि प्रतियोगिता आयोजना गरिएको बताए । उनले तीन दिनसम्म चल्ने प्रतियोगितामा १६ टिमको सहभागीता रहेको र गत बर्षको भन्दा पुरस्कार राशी पनि बढेको बताए । बित्थडचिरमा निरन्तर आयोजना हुदैँ आइरहेको यस प्रतियोगिताले भलिबल खेलाडीहरु उत्पादन गरिरहेको अध्यक्ष बोहराले बताए ।

१६ टिम सहभागी प्रतियोगिताको विजेताले ४५ हजार ५ सय रुपैयाँ तथा उपविजेताले २७ हजार ३ सय रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै तेस्रो हुने टोलीले नगद १६ हजार ३८० रुपैयाँबाट पुरस्कृत हुनेछन । डेउडा सर्जकहरुलाई नगद १५ हजार रुपैयाँले सम्मान गरिने छ ।

आज चैत २८ गतेदेखी सुरु भएको प्रतियोगिता देवेश्वरी मावि देउलेखको खेलमैदानमा ३ दिनसम्म चल्ने छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार