५ श्रावण २०८३, मंगलबार

१६ वर्षपछि स्पेन विश्वविजेता, अर्जेन्टिनाको उपाधि रक्षा सपना अधुरै



काठमाडौं / स्पेनले अर्जेन्टिनामाथि रोमाञ्चक जित निकाल्दै फिफा विश्वकप २०२६ को उपाधि आफ्नो नाममा लेखाएको छ। अमेरिकाको न्युयोर्कस्थित न्यु जर्सी स्टेडियममा आइतबार राति सम्पन्न फाइनलमा अतिरिक्त समयमा अर्जेन्टिनालाई १–० ले पराजित गर्दै स्पेनले १६ वर्षपछि पुनः विश्व फुटबलको सर्वोच्च सम्मान हासिल गरेको हो।

निर्धारित ९० मिनेटसम्म दुवै टोलीले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा पुगेको थियो। दुवै टोलीले अवसर सिर्जना गरे पनि उत्कृष्ट रक्षापङ्क्ति र गोलकिपरको प्रदर्शनका कारण खेल बराबरीमा रोकिएको थियो।

अर्जेन्टिनाका लागि खेलको अन्त्यतिर ठूलो धक्का लाग्यो। निर्धारित समयको अन्तिम क्षणमा मिडफिल्डर एन्जो फर्नान्डेजले दोस्रो पहेँलो कार्ड पाएपछि रातो कार्डसहित मैदान छाड्नुपर्‍यो। त्यसपछि १० खेलाडीमा सीमित भएको अर्जेन्टिनामाथि स्पेनले थप दबाब बढाएको थियो।

अतिरिक्त समयको दोस्रो हाफको सुरुआतमै स्पेनले निर्णायक गोल निकाल्यो। खेलको १०६औँ मिनेटमा फेरान टोरेसले उत्कृष्ट फिनिसिङ गर्दै स्पेनलाई १–० को अग्रता दिलाए। त्यही गोल नै उपाधि जित्न पर्याप्त बन्यो।

स्पेनले खेलभर बल नियन्त्रण र आक्रमणमा प्रभुत्व कायम राख्दै अर्जेन्टिनालाई लगातार दबाबमा राखेको थियो। अर्जेन्टिनाले बराबरी गोल फर्काउने प्रयास गरे पनि स्पेनको संगठित रक्षापङ्क्ति भेद्न सकेन।

यससँगै स्पेनले सन् २०१० पछि पहिलो पटक विश्वकपको उपाधि उचाल्न सफल भएको छ। १६ वर्षको प्रतीक्षाको अन्त्य गर्दै स्पेनले विश्व फुटबलमा आफ्नो पुनरागमनलाई ऐतिहासिक बनाएको हो।

यता, लगातार दोस्रो विश्वकप उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको अर्जेन्टिनाको सपना भने फाइनलमै टुटेको छ। कडा प्रतिस्पर्धाबीच अन्तिम समयमा खेलाडी गुमाउनु अर्जेन्टिनाका लागि महँगो सावित भयो र उपाधि स्पेनको पोल्टामा पुगेको छ।


प्रतिक्रिया दिनुहोस्
ताजा समाचार