२४ बैशाख २०८१, सोमबार

६१ वर्षीय वृद्धको पेटभित्रबाट बोतल निकालियो



धनगढी/ कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचार गराउन पुगेका एक बिरामीको पेटबाट ८८४८ भोड्का रक्सीको खाली बोतल निकालिएको छ ।

पेट दुखेपछि उपचारका लागि बिहीबार अस्पताल पुग्नुभएका धनगढी उपमहानगरपालिकाकै ६१ वर्षीय नाम परिवर्तन रामबहादुर रोकामगरको पेटबाट भोड्का रक्सीको बोतल निकालिएको हो ।

अस्पतालका डा। शङ्कर अधिकारी नेतृत्वको चिकित्सक टोलीले शल्यक्रिया गरेर पेटभित्र रहेको बोतल निकालेको अस्पतालका सूचना अधिकारी मेखराज उपाध्यायले जानकारी दिए ।

रोक्कामगरले मदिरा पिउने क्रममा साथीहरुले मलद्वारबाट पेटमा रक्सीको बोतल घुसाइ दिएको बिरामीले चिकित्सकसमक्ष बताएका छन् । प्रहरीलाई उनले त्यसविरुद्धमा उजुरी भने गरेका छैनन् । शल्यक्रियापछि बिरामीको स्वास्थ्य अवस्था ठीक रहेको र सेती प्रादेशिक अस्पतालमै उपचार भइरहेको सूचना अधिकारी उपाध्यायले बताए ।

उनले आफ्नो बारेको जानकारी घर परिवार र आममानिसले थाहा नपाउन भन्ने हिसावले सञ्चारकर्मीसंग कुरा गर्न मानेनन् भने फोटो पनि खिच्न तयार भएनन् । उनको चाहना अनुसार अनुमोदन खवरले सही नाम र ठेगाना उल्लेख नगरेको हो ।

यो पनि हेर्नुस

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार