१४ बैशाख २०८१, शुक्रबार

मधुवन निबन्धसंग्रह लोकार्पण



अशान्त समाजलाई साहित्यले सही सही दिशा दिनुपर्छ– मुख्यमन्त्री

धनगढी । निबन्धकार गणेशराज जोशीद्वारा लिखित मधुवन निबन्ध संग्रहको शनिबार लोकार्पण गरिएको छ ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, प्रदेश सभाका सभामुख अर्जुनबहादुर थापा र उपसभामुख निर्मला वडाल जोशीले निबन्धसंग्रहको लोकार्पण गरे ।

निबन्धकार जोशीको यो तेस्रो कृति हो । उनका यसअघि मान्छे र फूल (२०७४) तथा सुदूरपश्चिमका उखान (२०७४) प्रकाशित भइसकेका छन् ।

निबन्धकार जोशी सुदूरपश्चिम प्रदेशको सर्वाधिक राशीको बद्रिकृष्णा बाङ्मग पुरस्कार प्राप्त गर्ने पहिलो लेखक हुन् । उनीद्वारा लिखित मान्छे र फूल निबन्धसंग्रह उत्कृष्ट बिक्री हुने पुस्तकको सूचीमा रहेको छ ।

१४ वटा निबन्ध रहेको मधुवन शुभकामना प्रकाशन प्रालि काठमाडौंले प्रकाशन गरेको छ ।

निबन्धसंग्रह लोकार्पण कार्यक्रममा मुख्यमन्त्री भट्टले लेखक, साहित्यकार तथा लेखन र साहित्य समाज परिवर्तन तथा सामाजिक रुपान्तरणका आधार रहेको चर्चा गरे ।

उनले भने– अहिलेको कोलाहालपूर्ण र अशान्त समाजलाई सही बाटोमा डोराउन साहित्य स्रष्टाहरुले अब्बल भूमिका निर्वाह गर्नुपर्दछ ।

उनले विचारका आधारमा कलमहरु ध्रुविकृत भए भने समाजलाई सही दिशामा डोराउन नसकिने बताए ।

मुख्यमन्त्री भट्टले सबै क्षेत्रमा पछाडी पारिएको सुदूरपश्चिम प्रदेशको भाषा, साहित्य, कला संस्कृतिको विकास र विस्तारका लागि साझा प्रयास जरुरी जरुरी रहेको बताए ।

उनले हाम्रो जस्तो कमजोर र पुरातनवादी शैली र सोचको सिस्टम तथा कार्यशैली र व्यवहारका कारण चाहेर पनि तीब्र गतिमा आर्थिक विकास सम्भव हुनसकेको नसकेको बताए ।

कार्यक्रममा सभामुख थापाले हाम्रो लेखन, साहित्य कला बाङ्मय मधुवन जस्तो सुन्दर र मनमोहक हुनु पर्ने बताए ।

उनले सुदूर पश्चिमाञ्चल साहित्य समाज लेखक, स्रस्टाहरुका लागि प्रेरणा स्रोत रहेको चर्चा गरे ।

उनले भने– साहित्यले सुदूरपश्चिम प्रदेशको प्राकृतिक सम्पदाहरुलाई उजागर गर्नु पर्दछ ।

सभामुख थापाले पीडा, कष्ट, कठिनाईबाट आक्रान्त मान्छेहरुलाई साहित्यले माया, स्नेह प्रदान गर्ने बताए ।

कार्यक्रममा उपसभामुख जोशी र प्रदेश सभामा प्रमुख प्रतिपक्षी नेता डाक्टर रणबहादुर रावलले लेखक, स्रस्टाहरुका लागि सुदूरपश्चिम प्रदेश उर्बर भूमि भएको बताए ।

कार्यक्रममा सहप्राध्यापक डा. बद्रिप्रसाद शर्मा बिनाडी, तीर्थराज भट्ट र तुलसी शर्माले मधुवन निबन्धसंग्रहमाथि टिप्पणी तथा समिक्षा गरेका थिए ।

कार्यक्रम सुदूरपश्चिमाञ्चल साहित्य समाजका अध्यक्ष रामलाल जोशीको अध्यक्षातमा भएको थियो ।

कैलाली जनपुस्तकालयका अध्यक्ष डाक्टर टिएन जोशीले स्वागत गरेको कार्यक्रमको सञ्चालन गणेश नेपालीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार