२८ भदौ २०८३, आइतबार

बाजुराको भूगोलबाट काठमाडौंको साहित्यिक मञ्चसम्म भुपेन



काठमाडौं / दुर्गम बाजुराको भूगोलबाट काठमाडौंको साहित्यिक मञ्चसम्म आइपुगेका युवा सर्जक तथा स्वास्थ्यकर्मी भोपेन्द्र बुढा ‘भुपेन’ले आफ्नो पहिलो उपन्यासमार्फत साहित्यमा औपचारिक प्रवेश गरेका छन्। उनको उपन्यास ‘तिमी आउनु पर्छ’ काठमाडौंमा एक कार्यक्रमबीच विमोचन गरिएको छ।

वरिष्ठ साहित्यकार तथा मदन पुरस्कार विजेता महेश विक्रम शाहले उपन्यासको विमोचन गरेका हुन्। छेडेदह साहित्य प्रतिष्ठानद्वारा प्रकाशित कृतिको विमोचन कार्यक्रममा साहित्यकार हर्क खडायक, हिक्मत शाही ‘क्षितिज’ र कृष्ण ओलीले उपन्यासमाथि समीक्षा गरेका थिए। उनीहरू आख्यानका साथै गीत तथा गजल सिर्जनामा पनि सक्रिय छन्।

छेडेदह साहित्य प्रतिष्ठानका अध्यक्ष जीएन बुढाको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार मीन खड्काले सहजीकरण गरेका थिए। सरिता रोकायाले स्वागत मन्तव्य राखेकी थिइन्। देउडा गायिका शोभा थापाले देउडा गीत प्रस्तुत गरेको कार्यक्रममा सौगात शाह, हिक्मत थापा, प्रमित विक, गौरव विष्टलगायतले साहित्यिक तथा सांगीतिक प्रस्तुति दिएका थिए।

स्वास्थ्यकर्मीका रूपमा कार्यरत भुपेनले आफ्नो युवा उमेरका प्रेम अनुभूति र त्यससँग जोडिएका जीवनका आरोह–अवरोहलाई उपन्यासको आधार बनाएका छन्। १८ अध्यायमा संरचित कृतिले कलेज जीवनबाट सुरु भएको प्रेमलाई रोजगारीका लागि विदेशिनुपर्ने बाध्यता, दूरी, प्रतीक्षा, सपना, सम्बन्ध, बिछोड र पुनर्मिलनको आशासम्म पुर्‍याएको छ।

‘एउटा भेट, दुई अपरिचित’, ‘डायरीका पानाहरू’, ‘मौनताले जन्माएको दूरी’, ‘सात समुद्रपारिको सपना’, ‘विदाइ, तर अन्तिम होइन’ र ‘एउटा फोन, जसले सबै बदलिदियो’जस्ता अध्यायले प्रेमलाई केवल आकर्षणको विषयका रूपमा नभई समय, दूरी र प्रतीक्षाले परीक्षण गर्ने सम्बन्धका रूपमा प्रस्तुत गरेका छन्।

उपन्यास विमोचन गर्दै साहित्यकार महेश विक्रम शाहले भुपेनको पहिलो कृति नै उत्कृष्ट बनेको बताए। युवा लेखकले शब्द र कल्पनाको संसारमा डुबेर कृति सिर्जना गरेको उल्लेख गर्दै उनले पुस्तक पढ्दा पाठकलाई बोझ महसुस नहुने बताए।

“पहिलो कृति नै उत्कृष्ट बनेको छ। युवा पुस्ताले खोजी–खोजी पढ्न सक्ने प्रेम कथा यसमा छ,” शाहले भने।

कार्यक्रममा सहभागी वक्ताहरूले भुपेनको साहित्यिक यात्रालाई केवल एउटा पुस्तक प्रकाशनका रूपमा हेर्न नहुने धारणा राखे। दुर्गम बाजुराबाट काठमाडौं आएर संघर्ष गरिरहेका २६ वर्ष नपुगेका युवाले उपन्यासजस्तो गम्भीर विधामा पहिलो कृति सार्वजनिक गर्नु आफैंमा महत्वपूर्ण उपलब्धि भएको उनीहरूको भनाइ थियो।

सामाजिक सञ्जाल र छोटा भिडियोको प्रभाव बढिरहेका बेला युवापुस्तामा लामो पुस्तक पढ्ने संस्कार कमजोर हुँदै गएको चर्चा भइरहेका समय भुपेनले उपन्यास लेखेर सार्वजनिक गर्नु आफैंमा चुनौतीपूर्ण प्रयास हो। आफ्ना अनुभूति र कल्पनालाई शब्दमा ढालेर पुस्तकका रूपमा पाठकमाझ ल्याउनु उनको साहित्यिक यात्राको महत्वपूर्ण सुरुवात बनेको छ।

बाजुरा भन्नेबित्तिकै विकटता, अभाव र समस्याको चित्र आउने गरेको छ। तर ‘तिमी आउनु पर्छ’ले बाजुराको अर्को परिचय पनि देखाएको छ—सिर्जना, प्रतिभा र सम्भावनाको बाजुरा।

बाजुराबाट काठमाडौंसम्मको भुपेनको यात्रा केवल भौगोलिक दूरी पार गर्ने यात्रा होइन, आफ्ना अनुभूतिलाई साहित्यमा रूपान्तरण गर्दै राष्ट्रिय साहित्यिक वृत्तमा उपस्थिति जनाउने यात्रा पनि हो।

यस अर्थमा ‘तिमी आउनु पर्छ’ प्रेमकथामा आधारित उपन्यास मात्रै होइन, दुर्गम भूगोलबाट आएको एक युवाले आफ्नो सपना र सिर्जनात्मक क्षमतालाई शब्दमार्फत राजधानीसम्म पुर्‍याएको दस्तावेज पनि बनेको छ।

भुपेनका लागि यो पहिलो पुस्तकसँगै साहित्यिक यात्राको पहिलो पाइला हो। अब प्रश्न एउटै छ—‘तिमी आउनु पर्छ’पछि भुपेनका शब्दहरू कुन यात्रातिर अघि बढ्नेछन्?


प्रतिक्रिया दिनुहोस्
ताजा समाचार