दिव्येश्वरी जोशी लोकसाहित्य राष्ट्रिय सम्मानबाट सम्मानित

लमजुङबाट लोक साहित्यकर्मीको सम्मानका लागि हरेक वर्ष वितरण हुँदै आएको राष्ट्रिय सम्मान पुरस्कारका लागि लोक संस्कृतिकर्मी उपप्राध्यापक दिव्येश्वरी जोशी छनौट हुनु भएको छ । ठाडोभाका लोककला प्रतिष्ठान नेपाल लमजुङले वितरण गर्ने उक्त पुरस्कार प्रतिष्ठानको स्थापना दिवसको तीन दिने ठाडोभाका मेलाको उदघाटन सत्रमा यही चैत २० गर्न प्रदान गरिने छ ।
‘ठाडोभाका– टीकाकुमारी ढुंगाना स्मृति लोकसाहित्य राष्ट्रिय पुरस्कार’ नामक उक्त पुरस्कारको राशि १० हजार रुपैयाँ नगद, सम्मान पत्र र दोसल्ला रहेको छ । लोक साहित्यका क्षेत्रमा विशेष दखल राख्ने व्यक्तित्वलाई यो पुरस्कार हरेक वर्ष एकजनालाई वितरण गर्ने गरिन्छ । गत वर्ष यो पुरस्कार त्रिविको नेपाली केन्द्रीय विभागका प्रमुख कृष्णप्रसाद न्यौपानेलाई प्रदान गरिएको थियो ।
डोटी जिल्ला मूलघर भएकी सम्मानित व्यक्तित्व दिव्यश्वरी जोशी पेशाले पद्मकन्या बहुमुखी क्याम्पस, बागबजार, काठमाडौँमा उपप्राध्यापक हुनुहुन्छ । भाषा, साहित्य, लोकसाहित्य र संस्कृतिसम्बन्धी अध्ययन, अनुसन्धानमा विशेष रुचि राख्नु हुने जोशीले त्रिभुवन विश्वविद्यालयबाट एम. ए, एम. फिल (नेपाली) गर्नुभएको छ । उहाँ सुदुरपश्चिम प्रदेश सरकारको प्रदेश विश्वविद्यालय तथा उच्च शिक्षाको सम्भाव्यता अध्ययन कार्यदलकाे सदस्य समेत रहिसक्नु भएको छ ।
उहाँका अनुसन्धानात्मक कृतिहरू डोटेली उखानको अध्ययन (२०७६), सम्पादन सिद्धान्तका आधारमा डोटेली घरगीत (२०७७) र डोटेली लोकसंस्कृतिमा ज्युँती (२०८०) प्रकाशित छन् ।
यसैगरी, बालकथा सङ्ग्रहहरू कृपाको चाहना बालकथा सङ्ग्रह (२०७९), ‘विसौंपर्वको रमाइलो’ कविता (२०७९) पाठ्यपुस्तकमा समावेश छ । उहाँका दुई अनुसन्धान प्रतिवेदन ‘डोटेली भाषिकामा प्रचलित उखानहरूको अध्ययन, २०५४ र डोटेली घरगीतको सन्दर्भपरक अध्ययन, दर्शनाचार्य, शोध प्रबन्ध, कीर्तिपुर : नेपाली केन्द्रीय विभाग, २०७१ रहेका छन् ।
उहाँको सुदूर पश्चिमको गौरव : गौरापर्व, २०७८ निबन्ध समेत प्रकाशित छ । त्यस्तै, लघुअनुसन्धान मूलक कृतिमा डोटेली सांस्कृतिक तथा ऐतिहासिक लोककथाहरूको लोकतात्त्विक विश्लेषण, लघु अनुसन्धान पत्र, बागबजार त्रिभुवन विश्वविद्यालय पद्मकन्या बहुमुखी क्याम्पस, २०७१ र डोटेली चैतमा रसविधान, लघु अनुसन्धान पत्र, लूनगङ्गा चौधरी अध्ययन प्रतिष्ठान, २०७६ रहेका छन् । लोकवार्ताकोश (२०७९)को सहलेखनको कार्य जोशीले गर्नु भएको छ ।
उहाँले २०७० सालदेखि विभिन्न गोष्ठीहरूमा गोष्ठीपत्र तयार गर्न थाल्नु भएकी उहाँका आजसम्म दर्जन बढी गोष्ठीपत्र तयार भइसकेका छन् । उहाँले विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय सम्मेलन तथा गोष्ठीहरूमा लगभग दुई दर्जन कार्यपत्रको प्रस्तुति गर्नु भएको छ ।
यसैगरी उपप्राध्यापक दिव्येश्वरी जोशीले प्रा. जयराज पन्तका वैचारिक विरासत, काठमाडौं : लोकवार्ता परिषद् नेपालको पुस्तक सम्पादन थाल्नु भई झण्डै दर्जन अंकको पुस्तक सम्पादन गर्नु भएको छ । त्यस्तै दर्जन बढी साहित्यिक पत्रिकाहरूको सम्पादन कार्य समेत गर्नु भएको छ ।
२०४५ देखि २०५३ सम्म विभिन्न विद्यालय र २०५४ सालदेखि हालसम्म अनवरत रूपमा त्रि.वि.का विभिन्न क्याम्पसहरूमा प्राध्यापनरत उहाँ विभिन्न सम्मान तथा पुरस्कारबाट सम्मानित हुनुहुन्छ । उहाँले आजसम्म प्राप्त गर्नु भएका मुख्य पुरस्कारमा सत्यप्रेम छात्रवृत्ति पुरस्कार, २०६४, उत्कृष्ट गोष्ठीपत्र पुरस्कार, २०७२, डोटेली लोकसाहित्य पुरस्कार २०७७, हर्ष–पार्वती राष्ट्रिय लोकसंस्कृति पुरस्कार २०७७ र प्रादेशिक प्रतिभा पुरस्कार २०७७ आदि छन् ।
पुस्तक तथा प्राज्ञिक पत्रिकाहरूमा भाषा, साहित्य, लोकसाहित्य र संस्कृतिसम्बन्धी करिब चार दर्जन लेख प्रकाशित छन् ।
ठाडोभाका लोककला प्रतष्ठिान नेपालका सल्लाहकार रमेशचन्द्र अधिकारी संयोजक रहेको छनौट समितिमा प्रतिष्ठानका अध्यक्ष नवराज पहाडी र उक्त पुरस्कार संस्थापक प्रतिष्ठानका तत्कालीन सल्लाहकार स्व. नरेन्द्रराज ढुंगानाकी धर्मपत्नी सीता ढुगाना रहेको छनौट समितिले जोशीलाई पुरस्कारका लागि चयन गरेको हो ।
स्व. ढुंगानाले आफू स्वर्गे हुनु अघि आफ्नी आमा टीकाकुमारीको स्मृतिमा स्थापना गरिदिनु भएको उक्त पुरस्कारको स्थायित्वका लागि एक लाख एक सय २५ रुपैयाँको अक्षयकोष समेत स्थापना गरिदिनु भएको छ ।
यो समाचार अन्तरङ्ग न्युज डटकम (https://www.antaranganews.com/?p=39063) मा प्रकाशित छ ।




