११ बैशाख २०८१, मंगलवार

लोकगायिका डिक्रादेवी पुनः गायन क्षेत्रमा फर्किइन्



शेरबहादुर ऐर/धनगढी । सुदूरपश्चिम प्रदेशकी स्थापित लोकगायिका डिक्रादेवी बादीको पुनः गायन क्षेत्रमा फर्केकी छिन् ।
सांगितिक क्षेत्रबाट ओझेलमा परेकी सुदूरपश्चिमकी लोकगायिका डिक्रादेवीले १० वर्षपछि ठाडिभाकामा रहेको ‘सुवा का“ भागिग्या’ एल्वमको विमोचन गरि गायन क्षेत्रमा फर्केको जनाइएको छ ।

आर्थिक अभावकै कारण गायन क्षेत्रबाट ओझेलमा परेकी गायिका डिग्रा देवीलाई अनमोल क्रियटिभ मिडिया काठमाडौंले सहयोग गरेको जनाइएको छ । एकल गीति एल्वमको बुधबार धनगढीमा सुदूरपश्चिमका समाजिक बिकासमन्त्री कृष्णराज सुवेदीले बिमोचन गरे ।
कञ्चनपुरको कृष्णपुर नगरपालिकामा बसोवास गर्दै आएकी लोकगायिका डिक्रादेवी आर्थिक अभावका कारण केही वर्षअघि भारत पलायन भएकी थिइन ।

नगरपालिकाद्वारा आर्थिक सहयोग

यसैबीच, लोकगायिका डिक्रादेवीलाई कञ्चनपुरको कृष्णपुर नगरपालिकाले आर्थिक सहयोग गर्ने घोषणा गरेको छ ।
गत जेठ २३ गते आएको हावाहुरीका कारण उनको घरको छानो उडेको, आर्थिक अवस्था कमजोर र अस्वस्थ भएपछि नगरपालिकाले कार्यपालिकाको बैठकबाट उनलाई ५१ हजार रुपैया सहयोग गर्ने निर्णय गरिएको नगरपालिका प्रमुख कर्ण बहादुर हमालले बताए ।
सुदूरपश्चिम प्रदेशका समाजिक बिकास मन्त्री कृष्णराज सुवेदीले लोकगायिका डिक्रादेवीलाई सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए ।
उनले भने– श्रष्टा तथा लोक गायक। गायिकालाई थप प्रोत्साहन गर्न मन्त्रालयले सम्मान तथा पुरस्कार वितरण गर्ने कार्यक्रम, देउडाको संरक्षणका लागि विभिन्न प्रतियोगिता लगायतका कार्यक्रम सञ्चालन गर्ने नीति लिएका छौं ।
कार्यक्रममा प्रदेश सभामा नेपाल कम्यूनिष्ट पार्टीका प्रमुख सचेतक तारा लामा तामाङ, अर्थ, विकास तथा प्राकृतिक स्रोत समितिका सभापति हर्कबहादुर कु“वर, प्रदेश सभा सदस्य दुर्गा विक, उमा बादी, धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर वड, कृष्णपुर नगरपालिका नगर प्रमुख कर्णबहादुर हमाल सहभागि रहेका थिए ।
कार्यक्रममा गायिका डिक्रादेवीको सांगितिक यात्रा, वर्तमान अवस्थासहितको प्रस्तुतिकरण भएको थियो ।

साहित्यकार जोशीको प्रश्नैप्रश्नै

प्रस्तुतिकरणपछि साहित्यकार रामलाल जोशीलाई धारणा राख्न अनुरोध गरियो । सबैलाई सम्मान गर्दै आफनो मन्तव्य शुरु गरेका साहित्यकार जोशीले भने– डिक्रादेवीको अवस्था अहिले दयनिय बनेको छ । के साहित्यकारको अवस्था यस्तै राख्न संघियता ल्याइएको हो । उनले सुदूरपश्चिम प्रदेशका केही साहित्यकारले देशभरीमै प्रदेशको पहिचान गराएको तर, प्रदेश सरकार र स्थानीय तहले उनीहरुको सम्मानका लागि कुनै पहल नगरेको गुनासो गरे ।
साहित्यकार जोशी प्रदेश र स्थानीय सरकारप्रति थप रुष्टता व्यक्त गर्दै ‘राजा शासन हटाउन नेताका पछि पछि साहित्यकार तथा कविकारहरु कलम लिएर हिडेका थिए । संगितकारहरुले मुरली र मादल बोकेका थिए । राजतन्त्र हटाएर अहिलेको शासन ल्याउनमा हाम्रो पनि भुमिका छ । तर, अझै अहिले पनि हामी साहित्यकार तथा संगितकारहरु उही पुरानो राजतन्त्रको आभास गरिरहेका छौं ।’
साहित्यकार जोशीले भने –‘विगतमा हामी केन्द्र सरकारलाई दोष दिन्थ्यौं । तर, प्रदेश र स्थानीय तह गठन भएको एक वर्ष भन्दा बढी भइसक्यो । हामी प्रज्ञा तथा साहित्यकारले यसको महशुष गर्न पाएका छैनौं ।’
उनले सामाजिक विकास मन्त्रीलाई अनुरोध गर्दै भने– प्रदेश स्तरिय प्रज्ञा प्रतिष्ठान स्थापना भएपछि यस क्षेत्रका साहित्यकार तथा प्रज्ञाहरुलाई काम गर्न सहज हुन्थ्यो तर, खै त त्यसको स्थापनाका लागि पहल भएको ?
उनले प्रमुख सचेतक तामाङप्रति ईंगित गर्दै भने– तामाङ जातीका आफनै भेषभुषा, रितिरिवाज छन् । त्यसको संरक्षण र प्रवद्र्धनका लागि के गर्नुभयो ?
साहित्यकार जोशीले प्रदेश सभा सदस्य उमा वादीलाई भने– माननिय ज्यू तपाईलाई बादी समुदायको पिडा, अवस्था सबै थाहा छ । त्यो भन्दा झन जटिल अवस्था हामी साहित्यकार र संगितकारको बन्न पुगेको छ । तपाइले डिक्रा दिदीको अवस्थाबारे खै त संसदमा आवाज उठाएको ?
उनले स्थानीय तहले पनि स्थानीय भाषा, साहित्य, संस्कृतिको संरक्षण तथा प्रवद्र्धनमा ध्यान नदिएको गुनासो गरे । उनले सबैलाई आग्रह गर्दै भने –‘सुदूरपश्चिमका साहित्यकारको सम्मान नहुने, यस प्रदेशको लोक देउडाको संरक्षण नहुने हो भने प्रदेशको आफनो पहिचाननै समाप्त हुने भएकाले सबै सचेत हुन जरुरी छ ।’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार