२३ बैशाख २०८१, आईतवार

‘अल्झिएको साहित्य परिवार’ अब ‘सारथि साहित्य प्रतिष्ठान’ 



काठमाडौं । साहित्य क्षेत्रमा सक्रिय ‘अल्झिएको साहित्य परिवार’ संस्थाले आफ्नो नाम परिवर्तन गरेर ‘सारथि साहित्य प्रतिष्ठान’ नामांकरण गरेको छ ।

संस्थाको प्रथम वार्षिकोत्सवको अवसर पारेर शनिवार काठमाडौंको लाजिम्पाटस्थित डिल्लीरमण पुस्तकालयको हलमा भएको कार्यक्रममा संस्थाको नयाँ नाम सार्वजनिक गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि डा. घनश्याम न्यौपाने ‘परिश्रमी’ले एक कार्यक्रमबीच संस्थाको परिवर्तीत नामको औपचारिक रूपमा घोषणा गरे । उनले यसअघि ‘अल्झिएको साहित्य परिवार’ का नामले चिनिदैं आएको यो संस्था अब ‘सारथि साहित्य प्रतिष्ठान’ का नामले चिनिने र साहित्य क्षेत्रमा अझै सशक्त भएर आउने विश्वास ब्यक्त गरे ।

संस्थाको प्रथम वार्षिकोत्सवको अवसरमा संस्थाको नाम परिवर्तन सँगै संस्थाले गजलकार वसन्त ओली ‘वसन्ती’ र सजना वाइबा ‘सन्ध्या’ तथा कवि नारायणप्रसाद पौडेललाई सम्मान पत्रसहित दोसल्ला ओढाई सम्मान गरेको छ भने कार्यक्रममा उपस्थित अतिथिहरुलाई कदर पत्रले सम्मान गरेको छ ।

कार्यक्रममा नेपाली भाषा साहित्यको जगेर्ना र उत्थानको निम्ति आउँदो दशैंमा साहित्यिक कार्यक्रम गर्ने र संस्थाको दोस्रो वार्षिकोत्सवमा संयुक्त गजल संग्रह प्रकाशन गर्ने संस्थाका सचिव बासु सापकोटाले जानकारी दिए ।

संस्थाका उपाध्यक्ष रुकेश ‘रुस’ चौलागाईंको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन राजन न्यौपानले गरेका थिए भने कार्यक्रममा विशिष्ट अतिथिहरु पोष्टराज चापागाईं, कलानिधी दाहाल साथै विभिन्न साहित्यिक संस्थाका अध्यक्ष एबंम प्रतिनिधिहरु तथा विभिन्न साहित्यिक अनुरागीहरुको उपस्थिति रहेको थियो ।

संस्थाका अध्यक्ष सिताराम खड्का काम विशेष नेपालबाहिर रहेकाले उनले अडियो रेकर्ड मार्फत कार्यक्रमलाई सम्बोधन गरेका थिए । त्यस्तै स्वागत मन्तव्य संस्थाकी सदस्य प्रमिला खरेलले गरेकी थिइन् भने संस्थाको वार्षिक प्रतिवेदन अर्थसचिब जानकी भण्डारीले प्रस्तुत गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार