एन्टिबायोटिक सम्बन्धी अभिमुखीकरण
हसुलिया । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कैलारी गाउँपालिकाको आयोजनामा मंगलबार हसुलियामा प्रतिजैविक (एन्टिवायोटिक) प्रतिरोध सम्बन्धी अभिमुखीकरण कार्यक्रम भएको छ । एन्टिवायोटिक औषधिको प्रतिरोधात्मक क्षमताले काम गर्न छोडेपछि आम नागरिकमा यसबारेमा चेतनामूलक कार्यक्रम गरिएको हो ।
कैलारी गाउँपालिकाका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, क्लिनिक सञ्चालक, स्थानीयहरूको सहभागिता रहेको कार्यक्रमको उद्घाटन कैलाली स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक टंकप्रसाद चापागाइले गरेका थिए । कार्यक्रमको उद्घाटन गर्दै वरिष्ठ जनस्वास्थ्य प्रशासक चापागाइले औषधि चिकित्सकको सल्लाह अनुसार सेवन गर्नुपर्ने बताए ।
राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका शिक्षा स्वास्थ्य प्रशासक डाक्टर भक्तबहादुर केसीले विश्वभर अहिले वर्षभरी सात लाख जनाले औषधिले काम नगरेका कारण मृत्यु भइरहेको तथ्यांक रहेको जानकारी दिए ।
उनका अनुसार तथ्यांकले सन् २०५० मा यस्तै अवस्था रहेमा विश्वभरी प्रति वर्ष एक करोडको औषधि काम नगरेका कारण मृत्यु हुने अनुमान रहेको बताए । सन् २०५० मा प्रति तीन सेकेण्डमा एक जनाको मृत्यु औषधिले काम नगरेकै कारण हुने अनुमान गरिएको बताए ।
आम मानिसले एन्टिवायोटिकको दुरुपयोग, अति प्रयोग गर्नु, चिकित्सकको सल्लाह विनानै औषधिको प्रयोग गर्नु लगायतका कारणले औषधिले कामनै गर्न छोडेको बताए । अहिलेको अवस्थामा क्षयरोग, छाला रोग, अल्सर, शल्यक्रिया, बालबालिकाकाका लागि बनाइएका एन्टिवायोटिक औषधिले प्रभावकारी रूपमा असर गर्न छोडेको देखिएको बताए ।
उनले आम मानिसले एन्टिवायोटिकको बढी सिफारिस गर्ने, पुरै मात्रामा सेवन नगर्ने, पशु र पंक्षीमा एन्टिवायोटिक प्रयोग र ३० वर्ष यता एन्टिवायोटिकको नयाँ अविष्कार नहुनु लगायतका समस्या रहेको बताए । उनले सरकारले एन्टिवायोटिक औषधिबाट देखिएको समस्याको समाधान गर्न पञ्च वर्षिय कार्ययोजना तयार गरिरहेको बताए ।
कार्यक्रममा कैलारी गाउँपालिका अध्यक्ष लाजुराम चौधरीले स्थानीय जनतामा जनचेतना नभएकोले एन्टिवायोटिकको प्रयोज जथाभावी प्रयोग भइरहेको बताए । कार्यक्रममा स्टरलिङ क्लिनिक हसुलियाका सञ्चालक गंगाराम चौधरीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
गाउँपालिका स्वास्थ्य संयोजक भूपेन्द्रसिंह महराले सञ्चालन गरेको कार्यक्रममा स्वागत स्वास्थ्य सहसंयोजक कृष्णदत्त पन्तले गरेका थिए ।




