२९ बैशाख २०८१, शनिबार

अनौठो क्याफे जहाँ मज्जाले तोडफोड गर्न पाइन्छ



अर्काको सम्पत्ति तथा मालवस्तु तोडफोड गरिदिने अधिकार कसलाई पो हुन्छ र ? तर अहिले एउटा यस्तो क्याफे छिरेको छ जसमा तपाइँले आफुलाई चाहेको कुरा तोडफोड गर्न सक्नुहुन्छ ।
भारतको इन्दोरमा खुलेको छ यस्तो क्याफे । तपाइँले मज्जाले तोडफोड गर्न सक्नुहुन्छ । यसरी तोडफोड गरिरहँदा तपाइँलाई कसैले रोक्दैन, कारवाही गर्दैन । कारवाही त भोग्नु पर्दैन, तर यसरी तोडफोड गर्नका लागि तपाइँले सुरुमै अनुमति लिँदा केही शुल्क तिर्नुपर्ने हुन्छ ।
मध्यप्रदेशको इन्दोरस्थित चन्द्रनगरमा खुलेको यो अनौठो क्याफेको नाम भडास क्याफे हो । रिसले मुर्मुरिएका मानिसहरु यो क्याफेमा छिरेर भकाभक तोडफोड गर्छन् र रिस शान्त भएपछि तनावमुक्त महसुस गर्दछन् ।
उक्त क्याफेमा तपाइँले जे मनलाग्यो त्यहीँ फोड्न सक्नुहुन्छ । सिसाको गिलास, कप, कुर्सी, टिभी, ल्इापटप, कम्प्युटर, घडी जस्ता सबै चिज पाइन्छन् जो फुटाउँदा तपाइँलाई मज्जा आउनेछ ।
रिस शान्त पार्नका लागि त्यहाँ पन्चिङ ब्यागदेखि बेलुन सम्म छन् । त्यहाँ तोडफोडका लागि जानेहरुले २ देखि ५ भारु दिएर गिलास फोड्न पाउँछन् । ५० भारु दिएर घडीलाई टुक्राटुक्रा पार्न सक्छन् । जति महंगो सामान फोड्न चाहनुभयो उति नै बढि रकम तिर्नुपर्ने हुन्छ । तर सामानको खास मूल्यको तुलनामा त्यहाँ तिर्नुपर्ने शुल्क चाहीँ निकै कम हो ।
यो क्याफेको खास विशेषता के भने त्यहाँ ग्राहकलाई कुनै रोकतोक हुँदैन ।
अतुल मलिकराम नामका युवाले उक्त क्याफे खोलेका हुन् । यो भारतको पहिलो भडास क्याफे हो । आजको भागदौडपूर्ण जिन्दगीमा मानिसहरुको तनाव, डिप्रेसन, रिस तथा पीडा कम गर्नका लागि यो क्याफेले सहयोग गर्ने दाबी उनको छ ।
यहाँ तोडफोड गरेर कुनैप्नि मानिसले आफ्नो मन शान्त पार्न सक्दछ । मानिसहरुको सुरक्षालाई ध्यानमा राख्दै तोडफोड गर्ने ग्राहकहरुलाई सुरक्षित ग्लोब्स, हेल्मेट, तथा सूट लगाउन दिइन्छ । यो क्याफेको भित्ता, छत लगायतका सबै ठाउँमा घृणा, रिस, रुवावासी, झगडा जस्ता शव्दहरु ठूला ठूला अक्षरमा लेखिएको छ ।
स्मरण रहोस् पश्चिमा देशहरुमा यस्ता क्याफेहरु एंगर रुम नामबाट पहिले देखिनै प्रचलनमा छन् । मानिसहरुमा बढ्दो डिप्रेसनलाई ध्यानमा राख्दै सबैभन्दा पहिले अमेरिकामा यस्तो एंगर रुम खुलेको थियो सन् २००८ मा ।
त्यसैको सिको गर्दै भारतमा खुलेको भडास क्याफेमा तोडफोडको आनन्द सँगै कफीको चुस्की, मनपर्ने गित संगीत र योगा समेत गर्न पाइन्छ । -एजेन्सी

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार