नेपालमै पहिलोपटक अन्तर्राष्ट्रिय मान्यताप्राप्त सिडेस्को डिप्लोमा परीक्षा
काठमाडौ/ नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय मान्यता प्राप्त सिडेस्को मेकअप तथा ब्युटी डिप्लोमा परीक्षा सञ्चालन गरिएको छ। सौन्दर्य शिक्षाको विश्वस्तरीय मापदण्ड मानिने यस परीक्षामा मेकअपतर्फ आठ र ब्युटीतर्फ नौ गरी १७ जना विद्यार्थी सहभागी भएका छन्।
शनिबार सम्पन्न सैद्धान्तिक परीक्षापछि ब्युटी (बडी केयर तथा स्किन केयर) विषयको प्रयोगात्मक परीक्षा साउन ११ गते र मेकअप विषयको प्रयोगात्मक परीक्षा साउन १२ गते हुने तालिका छ। त्यसपछि साउन १२ गते द एभरेस्ट होटलमा दीक्षान्त समारोह आयोजना गरिने आयोजकले जनाएको छ।

परीक्षाको लिखित र प्रयोगात्मक दुवै चरणको मूल्यांकनका लागि विभिन्न देशबाट अन्तर्राष्ट्रिय परीक्षक नेपाल आएका छन्। उनीहरूको प्रत्यक्ष निगरानीमा परीक्षा सञ्चालन र मूल्यांकन हुने भएकाले सम्पूर्ण प्रक्रिया अन्तर्राष्ट्रिय मापदण्डअनुसार हुने जनाइएको छ।
नेपालमा पहिलोपटक सिडेस्को परीक्षा आयोजना हुनुलाई सौन्दर्य शिक्षा क्षेत्रको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। यसअघि नेपाली विद्यार्थीले यो परीक्षा दिन विदेश जानुपर्ने अवस्था थियो। अब भने आफ्नै देशमा परीक्षा दिएर विश्वभर मान्यता प्राप्त डिप्लोमा हासिल गर्न सक्ने अवसर खुलेको छ।
बजारमा धेरै संस्थाले आफैं परीक्षा सञ्चालन गरी आफ्नै प्रमाणपत्र प्रदान गर्ने अभ्यास भए पनि सिडेस्को डिप्लोमा भने स्वतन्त्र अन्तर्राष्ट्रिय मूल्यांकन प्रणालीमा आधारित भएकाले यसको विश्वव्यापी मान्यता रहेको छ।
आइसास ब्युटी स्कुलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अजय अधिकारीले नेपालमा पहिलोपटक सिडेस्को परीक्षा सञ्चालन हुनु नेपाली सौन्दर्य शिक्षालाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने ऐतिहासिक उपलब्धि भएको बताए। उनका अनुसार अब नेपाली विद्यार्थीले विदेश जानुपर्ने बाध्यता बिना विश्वभर मान्यता प्राप्त डिप्लोमा नेपालमै प्राप्त गर्न सक्नेछन्।
सिडेस्कोको मान्यता प्राप्त गर्न संस्थाले अन्तर्राष्ट्रिय स्तरका पूर्वाधार, पाठ्यक्रम, दक्ष प्रशिक्षक र सञ्चालन प्रणालीसम्बन्धी कडा मापदण्ड पूरा गर्नुपर्ने हुन्छ। नेपालमा यस्ता मापदण्ड पूरा गरी सिडेस्को परीक्षा सञ्चालन गर्न सक्षम एकमात्र आधिकारिक संस्थाका रूपमा आइसासले सेवा दिइरहेको जनाएको छ। आयोजकका अनुसार यसले अन्तर्राष्ट्रिय स्तरको दक्ष जनशक्ति उत्पादन गर्दै नेपालको ब्युटी तथा वेलनेस उद्योगलाई विश्व बजारसँग जोड्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।
विश्वकै प्रतिष्ठित सौन्दर्य शिक्षा तथा व्यावसायिक योग्यताको मापदण्ड निर्धारण गर्ने संस्था सिडेस्कोले यस वर्ष आफ्नो स्थापना भएको ८० वर्ष पूरा गरेको छ। सो अवसरमा सिडेस्को मान्यता प्राप्त विद्यालयहरूको सहभागितामा तीनदिने अन्तर्राष्ट्रिय कंग्रेस फिजीमा आयोजना हुँदैछ।
४० भन्दा बढी देशमा मान्यता प्राप्त सिडेस्को डिप्लोमा प्राप्त गर्न परीक्षार्थीले सैद्धान्तिक र प्रयोगात्मक दुवै परीक्षामा कम्तीमा ७० प्रतिशत अंक ल्याउनुपर्ने व्यवस्था छ। ६९ प्रतिशत अंक प्राप्त गर्ने परीक्षार्थीसमेत अनुत्तीर्ण हुने भएकाले यसको मूल्यांकन प्रणाली विश्वकै कठोर र गुणस्तरीयमध्ये एक मानिन्छ।




