२३ बैशाख २०८१, आईतवार

भारतमा छ एउटा जेल जहाँ निर्दोष व्यक्तिलाई मात्र थुनिन्छ



विभिन्न अपराधमा संलग्न व्यक्तिहरुलाई सजाय दिनका लागि जेलमा राख्ने चलन संसारका हरेक देशहरुमा हुन्छ । निर्दोष व्यक्तिलाई कतै पनि जेलभित्र राख्ने गरिदैन ।
तर हाम्रो छिमेकी देश भारतमा एउटा यस्तो जेल छ जहाँ कुनै अपराध नगरेका निर्दोष व्यक्तिहरुलाई राखिन्छ, र उनीहरुबाट यसवापत ‘भाडा’ समेत असुल गरिन्छ ।
यो हो भारतको तेलंगाना राज्यमा रहेको संगारेड्डी जेल । एक बारको जुनीमा जेलको स्वाद चाख्न चाहने जोकोही यहाँ बस्न पाउँछन् । यसका लागि कैदीले प्रत्येक रातको पाँच सय भारु तिर्नुपर्ने हुन्छ ।
यो जेल २ सय २० वर्ष पुरानो हो । अहिले यसलाई एउटा संग्रहालयको रुपमा परिवर्तित गरिएको छ । यसको नाम नै राखिएको छ, ‘फिल द जेल’ । यो जेल ३ एकड जमीनमा फैलिएको छ ।
यो जेलमा बस्न चाहने व्यक्तिले बेलुकी ५ बजे अगावै आइपुग्ननुपर्छ र आफू बस्न चाहेको समयाावधि अनुसार पैसा तिर्नुपर्छ । पैसा तिरिसकेपछि उसलाई जेलभित्र बन्द गरिन्छ । थुनिएको व्यक्तिलाई रातको समयमा कसैले पनि भेट्न पाउँदैन । उनीहरुले अनिवार्यरुपमा जेलकै खाना खानु पर्छ र यहाँभित्रको सरसफाईमा पनि संलग्न हुनुपर्छ । जेलभित्र यातनाको अनुभव लिन चाहनेहरुका लागि त्यो ‘सुविधा’ पनि छ, तर यसका लागि अतिरिक्त पैसा तिर्नुपर्ने हुन्छ । भोलीपल्ट बेलुकी ५ बजे अगाडि उनीहरुलाई जेलबाट बाहिर पठाइन्छ ।
जेल व्यवस्थापनका अनुसार जेलभित्रको जीवन कस्तो हुन्छ भन्ने अनुभव गर्न चाहनेहरुलाई ध्यानमा राखेर यस्तो व्यवस्था गरिएको हो । यो जेलको अवधारणा दिमागमा आउनेवित्तिकै लामो समयदेखि खाली रहेको एउटा पुरानो जेललाई मर्मत गरेर ठीकठाक बनाइएको थियो । अपराध गरेका व्यक्तिहरु भने यहाँ बस्न सक्दैनन् ।
यहाँ प्रत्येक दिन २० देखि ३० जना निर्दोष व्यक्तिहरु थुनिनका लागि आउने गरेको जेल प्रशासनले जनाएको छ । यसरी आउनेहरु प्रायः युवा हुन्छन् । एकै व्यक्ति महिनौंसम्म थुनिएर बसेको पनि उदाहरण छन् । – एजेन्सी

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार