२३ बैशाख २०८१, आईतवार

श्रीमानसँग रंगेहात भेटिएपछि …



आफ्नो श्रीमान् कुनै परस्त्रीसँग सुतेको प्रत्यक्ष देखेपछि जोसुकै श्रीमती ‘फायर’ हुनु स्वभाविकै हो । तर, यस्तो ‘एक्सन’ लिन चाहिँ जोकसैले सक्दैनन् ।
घटना ब्राजिलको साओ पाउलोस्थित कुबाटाओ भन्ने ठाउँको हो । नाम नखुलाइएकी एक पत्नीले आफ्नो श्रीमानलाई उनकै अपार्टमेन्टमा एक अपरिचित युवतीसँग सहवासमा लिप्त भएको आफ्नै आँखाले देखिन् ।
असैह्य भएर उनले ती २० वर्षीया युवतीमाथि बेइज्जतीपूर्ण कारबाही गरिन् । उनले ती युवतीको कपाल रेजरले काटेर रागेपाटे बनाइदिइन् । उनले लगाएको लुगा च्यातचुत पारेर नांगेझार बनाइन् । अनि बस्तीमा नांगै डुलाइन् ।
पछि श्रीमानले ती युवतीलाई उद्धार गरी कपडा लगाइदिएका थिए । उक्त बस्तीका कुनै छिमेकीले मोबाइलबाट यो दृश्यको भिडियो खिचेर सामाजिक सञ्जालमा पोस्ट गरिदिए ।
सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले श्रीमतीको एक्सनप्रति आपत्ति जनाउँदै उनलाई कारबाही गर्न प्रहरीको ध्यानाकर्षण गरे । प्रहरीले पनि तुरुन्तै घटनाको अनुसन्धान थालेर उनलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नुअघि फेसबुकमा लेखेकी थिइन्, ‘मैले जे गरेँ, ठिक गरेँ । एउटा विवाहित पुरुषसँग लसपस गर्नेलाई यस्तै सजाय दिनुपर्छ ।’
उनले आफू अब श्रीमानसँग सँगै बस्न नसक्ने समेत घोषणा गरेकी छिन् ।
पीडित युवतीले प्रहरीलाई बयान दिँदै पुरुष विवाहित रहेकोबारे आफूलाई थाहा नभएको बताएकी छिन् । आफूहरुबीच करिब पाँच महिनादेखि सम्बन्ध रहेको उनको भनाइ छ ।
पीडक महिला यदि दोषी ठहरिएको खण्डमा १० वर्षसम्मको जेल सजाय भोग्नुपर्ने हुन सक्छ । उनीमाथि अर्को व्यक्तिलाई धम्क्याएको शारीरिक चोटपटक लगाएको, बदनाम गरेको, यातना दिएको लगायतका अभियोग प्रहरीले लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार