२२ बैशाख २०८१, शनिबार

जहाँ श्रीमान श्रीमतीले नै एक अर्कालाई चिन्दैनन्



सँगै जिउने सँगै मर्ने कसम खाएर विवाह गरेका श्रीमान श्रीमतीले एक अर्कालाई चिन्दैनन् भन्ने कुरा सहजै विश्वास गर्न सकिन्छ ? सकिन्न । तर, छिमेकी मुलुक भारतको हिमाञ्चल प्रदेशस्थित कूल्लुको पिणी भन्ने ठाउँका श्रीमान श्रीमतीले भने एक अर्कालाई चिन्दैनन् । पाठकवृन्द, भ्रममा नपर्नुस् । उनीहरुले सधैंका लागि नचिन्ने भन्ने होइन, वर्षको पाँच दिन भने उनीहरुले एक अर्कासँग नचिनेको व्यवहार गर्नुपर्छ । भर्खर दाम्पत्य जीवनमा बाँधिएको होस् वा वर्षाैंसम्म सँगै बसेका किन नहुन्, यो व्यवहार सबैमा लागू हुन्छ । यो उनीहरुमा सदियौंदेखि चल्दै आएको संस्कार हो । यस्तो संस्कार नमान्ने महिलाको घरमा अशुभ घटना हुने अन्धविश्वास रहेकाले यो संस्कार ताड्ने हिम्मत अहिलेसम्म कसैले गरेका छैनन् । सो गाउँमा हरेक वर्षको भदौ संक्रान्तिदेखि पाँच दिनसम्म यस्तो चलन चल्दै आएको छ । यसलाई सो समाजमा कालो महिना भनेर भनिन्छ । यो ५ दिनमा पति पत्नी एक अर्कामा हाँसो ठट्टा पनि गर्दैनन्, अन्जान तथा अपरिचित जस्तै व्यवहार गर्छन् । महिलाहरु भने यो पाँच दिन साहै्र राम्रा राम्रा कपडा लगाउँछन् । जसले पुरुषहरुलाई थप तनावमा पार्छ । यो चलन त्यहाँ हावामा चलेको भने होइन । किम्बदन्तीअनुसार लाहुवा घोडा देवता जब परापूर्व कालमा पिणी गाउँ पुगेका थिए तब त्यहाँ राक्षसहरुको आतंक थियो । देवताले पिणी गाउँमा प्रवेश गरी राक्षसको नाश गरेको विश्वासका कारण यो चलन चल्दै आएको हो ।

-एजेन्सी

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार