२२ भदौ २०८३, सोमबार

जलवायु संकटप्रति राष्ट्रपतिको चिन्ता, जलवायु न्यायका लागि विश्व समुदायलाई अपिल



काठमाडौँ / राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनको मारमा परेका नेपालजस्ता मुलुकका लागि अन्तर्राष्ट्रिय समुदायले ठोस रूपमा जलवायु न्याय सुनिश्चित गर्नुपर्ने बताएका छन्।

राष्ट्रका नाममा सोमबार सम्बोधन गर्दै राष्ट्रपति पौडेलले विश्वव्यापी तापक्रम निरन्तर बढ्दै जाँदा त्यसको प्रत्यक्ष असर हिमाली तथा पारिस्थितिकीय रूपमा संवेदनशील मुलुकहरूले भोगिरहेको उल्लेख गरे।

नेपालमा पछिल्लो समय देखिएका बाढी, पहिरो तथा अन्य प्राकृतिक विपत्तिलाई जलवायु संकटसँग जोड्दै उनले हिमाली पर्यावरणको संवेदनशीलताप्रति विश्वको ध्यानाकर्षण गराएका हुन्।

राष्ट्रपति पौडेलले अन्तर्राष्ट्रिय समुदायले नेपाललगायत प्रभावित राष्ट्रहरूको आवाज सुन्नेमात्र नभई त्यसअनुसार प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिए।

“नेपाललगायत पारिस्थितिकीय रूपमा प्रभावित राष्ट्रहरूको आवाज सुन्न मात्र होइन; उनीहरूका लागि जलवायु न्याय सुनिश्चित गर्न ठोस र प्रभावकारी कदम चाल्न” उनले अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरे।

उनका अनुसार पछिल्ला विपत्तिले नेपालको हिमाली पर्यावरण असाधारण रूपमा जोखिममा रहेको तथ्य थप उजागर गरेको छ। विश्वव्यापी तापक्रम वृद्धिका कारण सिर्जित जोखिमलाई अब सामान्य प्राकृतिक घटनाका रूपमा मात्र हेर्न नहुने उनको भनाइ छ।

राष्ट्रपतिले नेपालले यसअघि पनि भूकम्प, बाढी, पहिरो, महामारीलगायत अनेकौँ विपत्ति सामना गरेको स्मरण गरे। हरेक संकटमा नेपाली जनताले साहस, धैर्य, संयम र दृढताका साथ परिस्थितिको सामना गर्दै आएको उनले बताए।

उनले विपत्तिबाट उत्पन्न चुनौती सामना गर्न राष्ट्रिय एकता, सहकार्य र दृढ संकल्प आवश्यक रहेको सन्देशसमेत दिएका छन्। पछिल्ला प्राकृतिक विपत्तिले मुलुकको विपद् व्यवस्थापन क्षमता थप सुदृढ गर्नुपर्ने आवश्यकता पनि औँल्याएको उनको सम्बोधनको आशय छ।


प्रतिक्रिया दिनुहोस्
ताजा समाचार