१० चैत्र २०८२, मंगलवार

स्वास्थ्यकर्मी–सञ्चारकर्मीबीच फुटसल



विश्व क्षयरोग दिवसको अवसरमा कैलालीको धनगढीमा स्वास्थ्यकर्मी र सञ्चारकर्मीबीच मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न भएको छ ।

स्वास्थ्य कार्यालय कैलालीको आयोजनामा मंगलबार धनगढीस्थित फ्ल्याटल्यान्ड फुटसल मैदानमा प्रतियोगिता सञ्चालन गरिएको हो ।

स्वास्थ्य क्षेत्रमा कार्यरत जनशक्ति र सञ्चार क्षेत्रबीच सहकार्य तथा आपसी सम्बन्ध सुदृढ बनाउने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा स्वास्थ्यकर्मी समूह विजयी भएको छ । प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

कार्यक्रमका आयोजकले विश्व क्षयरोग दिवसको सन्दर्भमा जनचेतना अभिवृद्धि गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने बताएका छन् । खेलकुदमार्फत सन्देश प्रवाह गर्दा समुदायमा सकारात्मक प्रभाव पर्ने विश्वास लिइएको छ ।

प्रतियोगितामा सहभागी स्वास्थ्यकर्मी तथा सञ्चारकर्मीहरूले समेत यस्ता मैत्रीपूर्ण गतिविधिले पेशागत सम्बन्ध अझ प्रगाढ बनाउने बताएका छन् । उनीहरूले आगामी दिनमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन् ।

विश्वभर प्रत्येक वर्ष मार्च २४ मा मनाइने विश्व क्षयरोग दिवसका अवसरमा विभिन्न सचेतनामूलक कार्यक्रमहरू आयोजना गरिँदै आएका छन् । यसै सन्दर्भमा धनगढीमा आयोजित फुटसल प्रतियोगिताले स्वास्थ्य र सञ्चार क्षेत्रबीच सहकार्यको सन्देश प्रवाह गरेको आयोजकको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार