१६ चैत्र २०८०, शुक्रबार

सुदूरपश्चिम स्पोर्टस अवार्ड : थप तीन विधाका मनोनयन सार्वजनिक




धनगढी /
आगामी महिना धनगढीमा आयोजना हुने दोस्रो सुदूरपश्चिम स्पोटर््स अवार्डका थप तीन विधाका लागि मनोनयन सार्वजनिक गरिएको छ ।

खेलकुद पत्रकार मञ्च, कैलालीको आयोजनामा हुने दोस्रो सुदूरपश्चिम स्पोर्ट्स अवार्डमा विभिन्न नौ विधा समावेश गरिएका छन् ।

२०७६ सालभरीको खेल प्रदर्शनका आधारमा विभिन्न विधामा छनोट गरिएका नौमध्ये हालसम्म सात विधाका मनोनयन सार्वजनिक गरिएका छन् ।

आयोजक खेलकुद पत्रकार मञ्चले यसअघि चार विधाको मनोनयन सार्वजनिक गरिसकेको छ ।
बिहीबार मञ्चले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमार्फत नवजीवन हस्पिटल वर्ष पुरुष खेलाडी, नोभा हस्पिटल वर्ष महिला खेलाडी र दिनेश सोप वर्ष प्रशिक्षक विधाको मनोनयन सार्वजनिक गरियो ।

कार्यक्रममा वर्ष पुरुष विधा प्रायोजक नवजीवन हस्पिटलका सञ्चालक योगेन्द्र ओझा, नोभा हस्पिटलका प्रशासकीय अधिकृत सुमन भट्ट र दिनेश सोपका ब्रान्ड निर्देशक आदित्य हमालले मनोनयन सार्वजनिक गरे ।

नवजीवन हस्पिटल वर्ष पुरुष खेलाडीको मनोनयनमा एथलेटिक्सका गोपीचन्द्र पार्की, दुवाथोलनका हिमाल टमट्टा र तेक्वान्दोका वीरवहादुर महरा परेका छन् ।

तीनै जना १३ औं दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जित्ने खेलाडी हुन् । त्यस्तै, नोभा हस्पिटल वर्ष महिला खेलाडीको मनोनयनमा पौडीकी गौरिका सिंह, तेक्वान्दोकी आयशा शाक्य र कुस्तीकी संगिता धामी परेका छन् ।

गौरिकाले १३ औं दक्षिण एसियाली खेलकुदमा चार स्वर्ण सहित नौ पदक जितेकी थिईन् । त्यस्तै, आयशाले तेक्वान्दोमा दुई स्वर्ण जितेकी थिईन् । भने संगिताले सागमा पहिलो पटक कुस्तीमा स्वर्ण जिताएकी थिईन् ।

त्यस्तै, दिनेश सोप वर्ष प्रशिक्षकको मनोनयनमा भलिबलका जगदीश भट्ट, कुस्तीका राजेन्द्र चन्द र कबड्डीका तारासिंह भाट परेका छन् ।

जगदिशको प्रशिक्षणमा रहेको महिला भलिबल टोलीले १३ औं दक्षिण एसियाली खेलकुदमा रजत पदक जितेको थियो भने सेन्ट्रल जोन भलिबलमा स्वर्ण जितेको थियो ।

त्यस्तै, राजेन्द्रको प्रशिक्षणमा १३ औं दक्षिण एसियाली खेलकुदमा पहिलो पटक कुस्तीमा स्वर्ण पदक सहित सात वटा पदक जितेको थियो ।

त्यस्तै, तारासिंह भाटको प्रशिक्षणमा रहेको महिला कबड्डी टोलीले नेपाललाई रजत पदक जितेको थियो भने ईन्डो नेपाल आमन्त्रण कबड्डी प्रतियोगितामा पुरुष टीमले रजत पदक जितेको थियो ।

यसअघि माया मेट्रो हस्पिटल सुदूरपश्चिम आईकन पुरुष र तिवारी मेडिसिन डिष्टिव्युर्टस सुदूरपश्चिम आईकन महिला तथा निसर्ग हस्पिटल वर्ष युवा खेलाडी विधाको मनोनयन सार्वजनिक गरिएको थियो ।

स्पोर्ट्स अवार्डका संयोजक प्रदीप पाठकले न्यू सिटी पोलिक्लिनिक स्पेशल अवार्ड र सारथी अस्पताल लाईफटाईम एचिभमेन्ट अवार्डको घोषणा कार्यक्रमका दिन नै सार्वजनिक गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार