११ श्रावण २०८१, शुक्रबार

सम्पादकीय : प्रदेश पर्यटन प्रवद्र्धन समिति पुनर्गठनको सवाल



नेपाल भ्रमण वर्षलाई लक्षित गरी सरकारद्वारा गठित सुदूरपश्चिम प्रदेशस्तरीय पर्यटन प्रवद्र्धन समिति असन्तुलित भएको भन्दै सरोकारवालहरूबाट भइरहेको व्यापक असन्तुष्टि र विरोधपछि समिति पुनर्गठन गरिने भएको छ । संघीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीस्तरबाट अढाई महिनाअघि सुदूरपश्चिम प्रदेश सहित सात वटै प्रदेशमा पर्यटन प्रवद्र्धन समिति गठन गरिएको थियो । तर, गठनको लगत्तै पहाडी जिल्लाका पर्यटन व्यवसायी र सरोकारवालाहरूबाट समिति असन्तुलित भएको भन्दै व्यापक आलोचना भएको थियो । व्यापक असन्तुष्टि र विरोधका कारण सुदूरपश्चिम प्रदेशस्तरीय पर्यटन प्रवद्र्धन समितिले पूर्णता पाउन सकेको थिएन भने जिम्मेवारी समेत प्राप्त भएको थिएन । अहिले संघीय पर्यटन मन्त्रालयले आफ्नो पूर्व निर्णयमा पुनर्विचार गरेको छ र समितिलाई सबै पक्षको न्यायोचित प्रतिनिधित्वसहित पूर्णता दिने निर्णय गरेको छ । नेपाल भ्रमण वर्ष शुरु हुन चार महिना मात्रै बा“की छ । यसको सोझो अर्थ भनेको प्रदेश स्तरीय पर्यटन प्रवद्र्धन समितिले तीब्र गतिमा काम गर्नु पर्ने बाध्यता रहेको देखाउछ ।
नेपाल भ्रमण वर्ष ठूलो लक्ष्यसहित घोषणा गरिएको छ । सुदूरपश्चिम प्रदेश पर्यटनका दृष्टिकोणबाट अहिले पनि “भर्जिन” मानिन्छ । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशको तीब्र आर्थिक समृद्धिको एक प्रमुख आधार पर्यटनलाई बनाएको छ । प्रदेश सरकारले प्रस्तुत गरेका दुवै नीति तथा कार्यक्रम र पूर्ण वार्षिक बजेटमा पर्यटनलाई प्राथमिकतामा राखिएको छ । तर, पर्यटन प्रवद्र्धनका साथै प्रदेशको द्र्ुत आर्थिक समृद्धिको आधार बनाउन जेजस्तो तयारी र प्रयास तथा कार्यक्रम हुनुपर्दथ्यो, त्यसमा अझैं गम्भीरतापूर्वक मनन् भएको देखिदैन । त्यसै पनि सुदूरपश्चिममा अझैसम्म पर्यटनको आशातित विकास भएको देखिदैन । निजी क्षेत्रबाट भएगरेका प्रयासहरुको फलस्वरुप पर्यटन प्रवद्र्धनका क्षेत्रमा केही आशा जागेको भए पनि सरकारी तहबाट उपलब्धीमुलक तथा दीर्घकालीन योजना बनाएर लागू भएको देखिदैन । सरकार परिवर्तनपिच्छे पर्यटन विकास बोर्ड तथा अन्य निकायको नेतृत्व परिवर्तन गर्ने, पछिल्ला सरकारले गरेका प्रयास तथा कार्यक्रमको साटो नया कार्यक्रम ल्याउने, ठोस उपलब्धी र लक्ष्य प्राप्तीका लागि ठोस प्रयास र योजना र कार्यक्रम भन्दा पनि नारा र भाषणमा मात्रै पर्यटन विकासलाई उल्लेख गर्ने प्रवृत्ति अझैं पनि कायम रहेको अवस्था छ ।
नेपाल भ्रमण वर्षलाई लक्षित गरेर सरकारद्वारा गठित पर्यटन प्रवद्र्धन समिति पुनर्गठनले यसप्रति यस क्षेत्रका पर्यटनका सबै पक्षको अपनत्व बृद्धि हुने तबमात्र अपेक्षा गर्न सकिन्छ, जब पुनर्गठनमा कुनै पनि किसिमको दलगत वा गुटगत राजनीतिक गन्ध मिसिने छैन । त्यसका साथै सुदूरपश्चिम प्रदेशको पर्यटन विकासका लागि अल्पकालीन, मध्येकालीन र दीर्घकालीन योजना बनाएर प्रभावकारी ढंगले कार्यान्वयन गर्नेतर्फ पहल गर्नु जरुरी छ । अहिलेसम्म सरकारी तथा निजी क्षेत्रबाट भएगरेका प्रयास तथा कार्यक्रमको गहन र इमान्दार समिक्षा गर्दै साच्चै नै आगामी दिनका लागि ठोस कार्यक्रम लागू गर्नेतर्फ ध्यान दिनु जरुरी छ । त्यसका लागि फेरि पनि स्थानीय, प्रदेश र संघीय सरकारबीच समन्वय र सहकार्यसहित सबै पक्षलाई समेटेर पर्यटन विकासका लागि ठोस पहल हुनु पर्दछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार