११ श्रावण २०८१, शुक्रबार

सम्पादकीयः हावाहुरी प्रभावितको पीडाप्रतिको उदासिनता



कैलालीको धनगढी उपमहानरपालिका, गोदावरी नगरपालिका, कैलारी गाउ“पालिका सहितका विभिन्न स्थानमा आठ दिनअघि आएको हावाहुरीबाट प्रत्यक्ष रुपमा पीडित तथा प्रभावित भएकाहरूमध्ये अधिकांसले अहिलेसम्म राहतको अनुभूत गर्न नसकेको अवस्था छ । खासगरी धनगढी उपमहानगरपालिकाका विभिन्न वडा तथा स्थानमा अझैं पनि विद्युत सेवा आपूर्ति हुनसकेको छैन । त्यस्तै, अवस्था हावाहुरीबाट भत्किएका घरपरिवार मध्ये अझैं पनि धेरैले एक थान त्रिपालसम्म पाउन नसकेको गुनासो गरिरहेका छन् । हावाहुरीबाट धनगढीका विभिन्न स्थानमा रहेका पोल्ट्रीफार्म प्रायःजसो पूर्ण रुपमा ध्वस्त भएको अवस्था छ, तर अहिलेसम्म न त उपमहानगरपालिका न प्रदेश सरकारले राहतका लागि कुनै ठोस निर्णय अथवा पहल नै गरेका छन् । जेठको प्रचण्ड गर्मीमा लगातार एक साताबढीदेखि विद्युत सेवा पाउन नसकेपछि उपभोक्ताहरू आक्रोसित हुनु स्वाभाविक हो । विद्युत सेवा आपूर्तिको माग गर्दै प्रभावितहरू वडा कार्यालय, उपमहानगरपालिका कार्यालय, विद्युत कार्यालयमा पटकपटक धाउदा पनि कुनै सुनुवाई नभएपछि आन्दोलनमा उत्रिन बाध्य भएको अवस्था छ । निश्चित रुपमा यस पटकको हावाहुरीबाट भएको क्षतीको मात्रा विगतको तुलनामा निकै बढी छ । सयौं विद्युतका पोल ढलेका छन् । अनगिन्ती रुखहरू ढल्दा विद्युत प्रसारण व्यवस्था अवरुद्ध भएको छ । विद्युत प्राधिकरणसंग रहेको सिमित जनशक्ति तथा उपकरणका भरमा यति एकै दिनमा एकैचोटी सबै प्रभावित स्थानमा विद्युत सेवा आपूर्ति गर्न कठिनाई पनि होला, तर आम नागरिकलाई यी र यस्तै समस्या देखाएर चुप लगाउन सकिदैन ।
मुख्य कुरा हावाहुरी प्रभावितहरूले स्थानीय तह तथा सम्बद्ध निकायबाट राहत तथा सेवा प्रवाहका लागि भरपर्दो ढंगले काम गरिरहेको छ भन्ने प्रत्याभूत गर्न सक्नु पर्दछ । दुर्भाग्यले प्रदेश सरकारले हावाहुरीबाट यति ठूलो परिमाणमा क्षती हुदा समेत सामान्य औपचारिकता देखाउने भन्दा गम्भीर ढंगले पीडित तथा प्रभावितहरूको पीडामा मलम लगाउनेतर्फ ध्यान नै दिएन । न त उपमहानगरपालिका तथा अन्य स्थानीय तहले हावाहुरीबाट भएको क्षतीप्रति संवेदनशीलता नै देखाएको अवस्था छ । हो, विभिन्न स्थानमा त्रिपाल सहितका राहत सामग्री वितरण गरिएका छन् । क्षतीको विवरण संकलन गर्ने काम पनि केही मात्रामा भइरहेको छ, तर अझैं पनि अधिकांस पीीडत तथा प्रभावितहरूले स्थानीय तह, जनप्रतिनिधि तथा सम्वद्ध निकायले गम्भीरता तथा संवेदनशील भएर काम गर्न नसकेको महसुस गरिरहेका छन् ।
हावाहुरी आएको आठ दिनसम्म पनि सबै स्थानमा विद्युत आपूर्ति सेवा पुनः सञ्चालन नहुनु पक्कै पनि बिडम्बना हो । यसले स्थानीय तह, जनप्रतिनिधि तथा सम्वद्ध निकायले कामको प्राथमिकीकरण गर्न नसकेको मात्रै होइन, राहत तथा सेवा सुचारु गर्नका लागि समन्वय र सहकार्य गर्न नसकको देखाउछ । त्यस्तै, यसले स्थानीय तह तथा अन्य निकायको काम गर्ने क्षमताको अवस्था कस्तो छ भन्ने पनि दर्साउछ । अहिले स्थानीय तहले प्रदेश अथवा केन्द्र सरकारलाई देखाएर आफ्नो दायित्वबाट पञ्छिन पाउदैनन् । त्यसैले स्थानीय तहका जनप्रतिनिधिहरूले आफ्नो कमजोरी स्वीकार गरेर पीडित तथा प्रभावित जनताको पीडा र गुनासो तत्काल सम्बोधन गर्नेतर्फ अब थप ढिलाई गरियो भने जनताको आक्रोसको सामना गर्न पनि तयार हुनुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार