नम्बरले जीवनको सफलता निर्धारण गर्दैन
माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशित भएको छ । यस वर्ष चार लाख ६० हजार बढी विद्यार्थी एसईईमा सहभागी भएका थिए । १० कक्षाको अन्तिममा लिइने परीक्षामा कसैलाई पनि अनुत्तीर्ण नगराउने नीति अवलम्बन गरिएपछिको यो तेस्रो नतिजा हो भने एसएलसी डिग्रीलाई एसईईमा रूपान्तरण गरिएपछिको दोस्रो हो । सबै परीक्षार्थी उत्तीर्ण हुँदैमा माध्यमिक शिक्षामा सुधार भइसक्यो भन्ने अर्थ लाग्दैन । विद्यार्थीले समग्रमा ल्याएको जीपीए र विषयगत ग्रेड शैक्षिक गुणस्तर सुधार गर्न सरकार, विद्यालय, अभिभावक र विद्यार्थीका लागि महत्त्वपूर्ण पाठ हो ।
शिक्षा जन्मदेखि मृत्युपर्यन्त आवश्यक पर्ने र त्यस अवधिमा प्रभाव पार्ने सम्पूर्ण ज्ञान हो । असल र खराब छुट्टयाउन सक्ने, विवेक प्रदान गर्ने, सही निर्णय लिन सक्षम बनाउने, व्यक्तिको व्यवहारलाई अनुकरणीय र आर्दश बनाउने, मानवता र नैतिकताको प्रस्फुटन गराउने, इच्छानुरूपको प्रतीभा विकासमा टेवा पुर्याउने आदि कार्य शिक्षाले नै गर्दछ ।
शिक्षाले व्यक्तिलाई विविध पक्षमा आर्दश बनाउँदछ । मान्छेलाई सम्पूर्ण विकास गराएर सत्मार्गतर्फ उन्मुख गराउँदछ । शिक्षाले मान्छेको इच्छा अनुरूपको प्रतीभालाई मलजल गरी भविष्यमा त्यही प्रतीभाले नै मान्छेलाई महान बनाइदिन्छ । यसर्थ, शिक्षा प्रतीभारूपी वीजको लागि अनुकूल हावापानीमा अवस्थित उर्वर भूमि हो ।
पुस्तकको गहन अध्ययनबाट, कसैको जीवनी, क्रियाकलाप आदिबाट अनुकरणीय शिक्षा हासिल गर्न सक्दछौं । हामीले प्रत्येक कुराको सुक्ष्मातिसुक्ष्म पक्षको अवलोकन गरेर पनि ज्ञान आर्जन गर्न सक्दछौं । इच्छा र खुबी भएमा प्रत्येक कुराबाट हामीले सही शिक्षा आर्जन गर्न सक्दछौं । शिक्षा प्राप्त गरेको व्यक्तिको व्यक्तित्व आदर्श हुन्छ । तसर्थ, शिक्षा आदर्श व्यक्तित्व भएको व्यक्तिलाई जन्माउने प्रक्रिया हो ।
नम्बर भन्दा महत्त्वपूर्ण कुरा हो– उनीहरू जीवनको दौडमा आफ्नै खुट्टाले दौडिन सक्षम भए कि भएनन् ? सन्तानलाई नम्बर ल्याउनेका लागि यन्त्र नबनाउनुहोस् । अनि, छोराछोरीलाई सधैं प्रतिस्पर्धामुखी मानसिकताको शिकार नबनाउनुहोस् ।
अहिले कुरा गरौं– सबैभन्दा पहिले त सबै एसईई उत्तीर्ण हुनु भएका सबै भाइबहिनीमा बधाई तथा प्रगतिको शुभकामना । यो परीक्षामा जसले कुनै पनि कारणबस धेरै अंक ल्याउन नसकेका भाइबहिनीहरूले निराश हुनुपर्ने कुनै कारण छैन । किनकि, तपाईले निराश भएर होइन्, अझै मिहिनेत गरेर अगाडिको पढाईमा सफलता प्राप्त गर्नुपर्नेछ । एसईई परीक्षाफलपछि कतिको घरमा खुसीयाली छाएको छ– उत्कृष्ट अंकमा सफल भएकोमा । कतिपयको घरमा केही निराशा, केही दु:ख महसुस भएको होला– कम अंक ल्याएकोमा । तर, तपाईले कहिल्यै पनि नसोच्नुस् कि तपाईंले प्राप्त गरेको ग्रेडले तपाईंको जीवनको सफलताको मूल्याकंन गर्दैन, तपाईको व्यवहार, सोच र तपाईको काम अनि एउटा असल व्यक्तित्वले गर्छ ।
परीक्षामा कम अंक वा ग्रेड आयो भन्दैमा कतिपय विद्यार्थीका अभिभावकले अब समाजमा के मुख देखाउने भन्नेसम्म गर्दछन् । एक पटक सोच्नुहोस– तपाईंको छोराछोरीले मिहिनेत त गरेको हो नि । अनि, तपाईले पनि उसको त्यो मिहिनेतमा के साथ दिनु भएकै हो ? ज्ञान प्रतिस्पर्धाको लागि होइन्, ज्ञान हरेकले आर्जन गर्ने विषय हो ।
कोही पनि बच्चा भविष्यमा कस्तो बन्छ भन्ने उसको परिवारबाट थाहा हुन्छ । कतिपय अभिभावकले त रातदिन पढ, पढ मात्र भन्छन् । तर के तपाईंले सोच्नु भएको छ, तपाईंको व्यवहार र सोचले तपाईको छोराछोरीमा कस्तो असर परिरहेको छ ? उनीहरूलाई दवावमा होइन् माया र राम्ररी समय तालिका बनाएर पढाईका साथै उनीहरूको जीवनमा अघि बढ्न प्रेरित गर्नुपर्छ । तपाईले जति समय आफ्नो परिवार तथा छोराछोरीलाई समय, साथ र विश्वास दिनुहुन्छ, त्यत्तिनै तपाईंको परिवारमा खुसीयाली रहिरहन्छ ।
तपाईले अरूका छोराछोरीले धेरै नम्बर ल्याए, तैले कम ल्याइस् भनेर आफ्नो छोराछोरीसँग जतिबेला पनि गुनासो गर्नु उचित होइन् । जीवनमा जीतहार भइरहन्छ । सबै जना सधैं सफल हुँदैनन् । असफलताले सफलताको मार्ग कोर्दछ भन्ने सर्वकालीक भनाई हो ।
जीवनमा पढाई सबैभन्दा महत्त्वपूर्ण पक्ष हो । यसले मानिसलाई ज्ञान, विवेक, क्षमता, दक्षता दिन्छ । सभ्यता सिकाउँछ । समाज र मुलुकको विकासमा सहभागी बन्नका लागि सधैं प्रेरित गर्छ । तर, पढाईका क्रममा परीक्षामा धेरैं नम्बर आउँदैमा मस्तले खान पाइने अथवा थोरै नम्बर आउदैमा भोकै बस्नु पर्ने होइन् ।
जिल्ला, क्षेत्र या बोर्ड टपर कालान्तरमा त्यही नम्बरको बोझले थिच्दै डल्लो परेका मान्छे पनि हाम्रै वरिपरि देख्न सक्छौं । त्यसैले अभिभावकले सन्तानले धेरै नम्बर ल्याएका भए हुन्थ्यो भनेर कहिले नसुनाउनुहोस् । नम्बर भन्दा महत्त्वपूर्ण कुरा हो– उनीहरू जीवनको दौडमा आफ्नै खुट्टाले दौडिन सक्षम भए कि भएनन् ? सन्तानलाई नम्बर ल्याउनेका लागि यन्त्र नबनाउनुहोस् । अनि, छोराछोरीलाई सधैं प्रतिस्पर्धामुखी मानसिकताको शिकार नबनाउनुहोस् । बरु आफ्ना छोराछोरीलाई असल मान्छे बन्न सिकाउनुहोस् । भोकको अर्थ र श्रमको महत्त्व सिकाउनुहोस् ।
विश्वका महान व्यक्तित्वले जीवनमा कतिपय अवस्थामा असफलता प्राप्त गरेका छन् । नोबेल पुरस्कार विजेता महान साहित्यकार रवीन्द्रनाथ टैंगोर माध्यमिक विद्यालय परीक्षामा धेरै पटक फेल भएका थिए । खानका लागि भिख माग्ने बालक महान कलाकार चार्ली च्याप्लिन बने । त्यसैले तपाईले पनि साहस गर्नुस्, असफलताबाट कहिल्यै पनि नआत्तिनुस् । किनकि तपाईंले एसईईमा प्राप्त गरेको नम्बरले तपाईंको जीवनको सफलताको निर्धारण गर्दैन । विश्वका सफल र महान व्यक्तित्वहरूले जीवनमा अनेक संघर्ष गरेका छन् । चाप र ताप पाएर मात्र कोइला हिरा बन्छ । अँध्यारो रात बितेपछि मात्रै उज्यालो आउँछ ।
जीवनमा संघर्ष, मिहिनेत गर्न अनेक बहाना बनाएर पन्छिनेहरू कहिल्यै सफल हुन सक्दैनन् । क्षणिक सोचाई, कायरता, अल्छी प्रवृत्ति, कामबाट पन्छिने मानसिकता आदि असफलताका कारण हनु् । किनकि, तपाई बाहेक तपाईंको सपनालाई कुल्चिन सक्ने अर्को व्यक्ति हुँदैन ।
तपाईं आफूले “म सक्छु” भन्ने सधैं सोच्नु हुन्छ भने तपाईको सपनालाई छेक्ने ताकत तपाई आफैं बाहेक यो संसारमा अरू कसैमा पनि हुँदैन ।