प्रदेश नम्बर सात स्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता शुरु
धनगढी । प्रदेश नम्बर सातस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता आजदेखि धनगढीमा सुरु भएको छ । युवा तथा खेलकुद मन्त्रालयको तत्वाधान, राष्ट्रिय खेलकूद परिषद्को संयोजन तथा सुदूरपश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समितिको आयोजनामा प्रदेश नम्बर सातस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको शुरु भएको हो ।
विद्यालयस्तरबाट नै खेलाडी उत्पादन गर्ने र उनीहरूको प्रतिभालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्म उजागर गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको सुदूरपश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समितिका कार्यालय प्रमुख प्रेमबहादुर मल्लले जानकारी दिए ।
आज र भोलि गरी दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा प्रत्येक निर्वाचन क्षेत्र, जिल्लास्तरका प्रतियोगितावाट छनोट भएका खेलाडीको सहभागिता रहेको छ । प्रतियोगिता अन्तर्गत छात्रछात्रा एथलेटिक्स, भलिबल, कबड्डी, उसु, कराँते र तेक्वान्दो, गरी नौवटै जिल्लावाट ७ सय जना खेलाडी सहभागी रहेका छन् । उनीहरू ती खेलका विभिन्न विधाहरूमा प्रतिस्पर्धा गरिरहेका छन् । आज पहिलो दिन लिग चरणका विभिन्न विधाका खेलहरू सम्पन्न भएका छन् ।
उत्कृष्ट एक सय जना खेलाडीलाई राष्ट्रिय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगितामा सहभागी गराइने सुदूरपश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समितिका कार्यालयका लेखा अधिकृत धर्मराज ओझाले जानकारी दिए । प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितावाट उत्कृष्ट खेलाडी छनोट गरी काठमाडौंमा यही जेठ २३ देखि २५ गतेसम्म सञ्चालन हुने केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागिता जनाइने छ ।
प्रतियोगितामा प्रथम हुने जिल्लालाई नगद २० हजार सहित प्रदेश नम्बर ४ को राष्ट्रपति रनिङ सिल्ड, दोस्रो हुने जिल्लालाई नगद १५ हजार ट्रफी र तेस्रो हुने जिल्लालाई नगद १० हजार ट्रफी मेडल र प्रमाणपत्र दिइनेछ ।
यसअघि प्रदेश नम्वर ७ का सामाजिक विकास मन्त्री दीर्घ सोडारीले प्रतियोगिताको उद्घाटन गरेका थिए । सुदूरपश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समितिका अध्यक्ष लालवहादुर शाहीको अध्यक्षतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।