४ जेष्ठ २०८१, शुक्रबार

एसईई परीक्षा शुरु



धनगढी  । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) बिहीबारदेखि सुरु भएको छ । छिटपुट घटना वाहेक पहिलो दिनको परीक्षा कैलाली लगायत प्रदेश नम्बर ७ मा शान्तिपूर्ण रुपमा भएको जनाइएको छ ।
प्रदेश नम्बर सातका केही जिल्लामा चिट चोराउने केही व्यक्ति पक्राउ परेको र बझाङमा दुई जना नक्कली परीक्षार्थी पक्राउ परेका थिए ।
प्रदेश नम्बर ७ मा यस वर्षको एसईई परीक्षामा ५५ हजार तीन सय तीन जना विद्यार्र्थी सहभागी भएका छन् ।
साधारण विद्यालयका ५० हजार दुई सय २१ र प्राविधिक विद्यालयका नौ सय ९६ गरी ५१ हजार दुई सय सात जना विद्यार्र्थी नियमिततर्फ एसईईमा सहभागी भएका छन् । एक्जाम्टेड तर्फ चार हजार ८६ विद्यार्थी सहभागी भएका छन् । त्यस्तै, एक हजार ४९ विद्यालयमा अध्ययनरत विद्यार्र्थीले यस वर्षको एसईईमा सहभागिता जनाएका छन् ।
प्रदेशमा शिक्षाको जिम्मेवारी समेत समाहलेका सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारीले बिहिबार कैलालीको घोडाघोडी, लम्की, गौरिगंगा नगरपालिका लगायतका क्षेत्रमा रहेका विद्यालयको निरिक्षण गरेका थिए ।
कैलालीमा सञ्चालित एसईई परीक्षाको कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख उपरीक्षक बिनोद घिमिरे, सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय धनगढीका प्रमुख उपरीक्षक श्याम कोईराला, राष्ट्रिय अनुसन्धान कार्यालय कैलालीका प्रमुख योगेन्द्र केसी लगायतको टोलीले अनुगमन गरेका थिए ।
कैलालीका प्रमुख जिल्ला अधिकारी रिजालले परीक्षा शान्तिपूर्ण रुपमा सञ्चालन भएको बताए ।
माध्यमिक शिक्षा परीक्षा एसईईको पहिलो दिन कैलालीमा तीन सय ४२ जना परीक्षार्थी अनुपस्थित भएका छन् ।
पहिलो दिनको अंग्रेजी विषयको परीक्षामा एक सय ६५ जना छात्र र एक सय ७७ जना छात्रा गरी तीन सय ४२ जना परिक्षार्थीहरु अनुपस्थित भएका जिल्ला शिक्षा अधिकारी गणेशबहादुर सिंहले जानकारी दिए ।
जिल्लाभरी १५ हजार छ सय ६२ जना प्रशिक्षार्थीका लागि ५० वटा केन्द्र तोकिएको छ । जसमा सात हजार तीन सय ३९ छात्र र आठ हजार तीन सय २३ छात्राहरु छन् । कैलालीका ३ वटा केन्द्रबाट भने एक्जाम्टेड परीक्षाका लागि एक सय ७६ छात्र र तीन सय नौ छात्राहरु गरी पाँच सय ६७ जनाले फाराम भरेपनि परीक्षामा भने चार सय ३६ जना परीक्षार्थीहरु मात्रै उपस्थित भएका छन् ।
उता डडेल्धुरामा भने ६३ जना परीक्षार्थी अनुपस्थित रहेको जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षक नारदप्रसाद जोशीले बताए । उनका अनुसार नियमित तर्फ १६ जना र एक्जाम्टेडतर्फ ४७ गरी ६३ जना अनुपस्थित रहेका हुन । डडेल्धुरामा एसइई परीक्षामा नियमित तर्फ एक हजार एक सय ८९ छात्र र एक हजार तीन सय ६९ छात्रा गरी जम्मा दुई हजार ५५ जना विद्यार्थी परीक्षामा सहभागी भएको बताइएको छ । त्यसैगरी एक्जाम्टेड तर्फ ९७ छात्र र एक सय ३५ छात्रा गरी दुई सय ३२ जनाले परिक्षा दिएका छन् ।
यस्तै बैतडीमा एक सय ९२ जना परिक्षार्थी अनुपस्थित भएका छन् । जसमा नियमितमा ३३ छात्रा र ३४ छात्रा गरी ६७ तथा एक्जाटेडमा ४७ छात्र र ७८ छात्रा गरी एक सय २५ जना रहेका जिल्ला शिक्षा कार्यालय बैतडीले जनाएको छ । बैतडीमा जम्मा पाँच हजार आठ सय ९४ परीक्षार्थी सहभागी भएका छन् । ती परीक्षार्थीका लागि २५ केन्द्र नियमित र दुई केन्द्र एक्जाम्टेडका गरी जम्मा २७ वटा परीक्षा केन्द्र कायम गरिएका छन् ।

नक्कली विद्यार्थी पक्राउ
ललित सिंह/बझाङ

बझाङको सत्यवादी परीक्षा केन्द्रबाट परीक्षा दिँदै गरेको अवस्थामा दुई जना नक्कली विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।
परीक्षा दिदै गरेको अवस्थामा प्रहरीले जयपृथ्वी नगरपालिका वडा नम्बर ७ का प्रकाश सिंह र थलारा गाउँपालिका वडा नम्बर ६ का वेदप्रसाद पाण्डेलाई पक्राउ गरेको जनाइएको छ ।
बझाङमा १९ केन्द्रमा एसईई परीक्षा सञ्चालन भइरहेको छ । प्रत्येक परीक्षा केन्द्रमा विद्यार्थीकै हाराहारीमा अभिभावक, आफन्त तथा साथीभाई पनि पुगेका थिए ।
एसईई परीक्षाको पहिलो दिन अंग्रेजी विषयको परीक्षा भएकाले जिल्लाको पान्डु मावि, दुर्गा मावि, बालविकास मावि, थलारा मावि, महादेव मावि, चौघारी मावि, शान्ति मावि लगायतका १९ परीक्षा केन्द्रमा गैरविद्यार्थीको पनि उत्तिकै भीड लागेको थियो ।
बझाङमा यस वर्षको एसईई परीक्षामा इक्जाम्टेड तर्फ तीन सय १९ जना सहित तीन हजार नौ सय १५ परीक्षार्थी रहेको जिल्ला शिक्षा अधिकारी सूर्यबहादुर सिहंले बताए ।
जिल्लामा परिक्षा सञ्चालनका लागि १९ जना केन्द्राध्यक्ष, २४ जना सहायक केन्द्राध्यक्ष, एक सय ८५ जना निरिक्षक, ९९ जना कार्यालय सहयोगी र प्रति परीक्षा केन्द्र १५ जनाका दरले दुई सय ८५ जना सुरक्षाकर्मी खटाइएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार