२० बैशाख २०८१, बिहीबार

फ्यानकाे प्रेमपत्र संगालेर किताब निकाल्नेछु : मन्जु



फरासिली, हाँसेर बोल्ने, स्टेजबाटै दर्शकसँग सवाल जवाफ गर्न सक्ने । एफएमबाट करिअर सुरु गरेकी कार्यक्रम प्रस्तोता मञ्जु पौडेलले स्टेजमा बबालै गरिन् एक समय ।
आयोजकले खोज्ने जस्तै गुण थियो मञ्जुमा । सांगीतिक कार्यक्रमको अतिरिक्त अन्य ब्यबसायिक र सामाजिक संघ-संस्थाले आयोजना गर्ने कार्यक्रममा पनि उनको हाइहाइ भयो । कतिपयले उनलाई ‘स्टेज क्वीन’ कै उपमा दिए ।
मञ्जु आफैं भन्छिन्, ‘जुनसुकै उमेर समुहका दर्शकसँग ट्याकल गर्ने क्षमता राख्छु । जहाँ पुगेँ, त्यहाँका दर्शकलाई सन्तुष्ट बनाएर फर्किएकी छु ।’
कार्यक्रम प्रस्तुतिका सबै अवसर सुखद हुँदैनन्, सामान्य गल्तिमा पनि दर्शकले बबाल मच्चाउन सक्छन् । यस अर्थमा मञ्जु आफुलाई भाग्यमानी महसुस गर्छिन् ।
‘अहँ आजसम्म मैले कहिल्यै दर्शकको अवरोध सामना गर्नुपरेन । बरु मायाको चिनो दिनेहरु धेरै छन्,’ मन्जुले भनिन् ।
उनको घरमा अहिले पनि फ्यानले दिएका सयौं चिट्ठी र कार्डहरु छन् । त्यस्ता ‘प्रेमपत्र’लाई सुरक्षित राखेकी मञ्जु आउँदा दिनमा संग्रह गरेर पुस्तकको रुप दिने सोचमा छिन् ।
त्यसरी आउने चिठ्ठी र कार्डहरुमा प्रायले सफलताको कामना गरेका हुन्थे भने कतिले गीत, कविता र सायरीहरु लेखेका हुन्थे । मन परेका सायरी उनी कार्यक्रममै सुनाउथिन्, फलानो दर्शकले लेख्नु भएको भन्दै ।

स्टेजबाटै गायनतिर
स्टेज कार्यक्रम गर्दागर्दै गायनमा प्रवेश गरेकी मञ्जुको अहिले अर्को पनि परिचय थपिएको छ, लोक गायिका । तीन दर्जनको हाराहारीमा गाइसकेकी मञ्जुका प्राय गीत दर्शकको मनमा बसेका छन् ।
उनले धेरै गाउने कुरामा कहिल्यै जोड दिइनन् । गीत गाउनु अघि उनी शब्द र संगीत हेर्छिन् र चित्त बुझ्यो भने मात्रै गाउछिन् ।
‘मेरो मन छोयो भने मात्रै दर्शकको मन छुन्छ जस्तो लाग्छ,’ उनले भनिन् ।
पछिल्लो समय तीज गीतमा ब्यस्त मञ्जु तीजसँग सम्बन्धित स्टेज कार्यक्रममा पनि उत्तिकै सक्रिय छिन् । अहिलेसम्म तीजका लागि विदेशको कार्यक्रम भने फिक्स नभएको उनले बताइन् ।
‘यसपाली तीजमा नेपाली दिदी-बहिनीसँगै रमाउने साइत जुर्ला जस्तो छ,’ उनले भनिन् ।

स्वास्थ्यका लागि दौड
पछिल्लो समय शरीर अलि शिथिल भएको अनुभव गरेकी मञ्जु अहिले आफुलाई फिट एन्ड फाइन राख्ने अभियानमा छिन् । हरेक विहान चार बजे उठेर एक घण्टा दौडिने गरेकी उनलाई काठमाडौं साँघुरो हुँदै गएकोमा भने चिन्ता छ । ‘मन फुकाएर दौडिने ठाउँ साह्रै थोरै छन्,’ उनले गुनासो गरिन् ।
घरमा भान्साको काम गर्न उनलाई असाध्यै जाँगर लाग्छ । घर बाहिरको खाना मन नपराउने मञ्जु आफ्नो हात निकै मिठो भएको बताउँछिन् ।

अनलाइनखबर

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार