११ आश्विन २०८३, आइतबार

सोल्टीमा आज चम्किँदैछन् १४ सुन्दरी, मिस युनिभर्स र मिस अर्थ नेपालको ताज कसले पहिरिएला



काठमाडौं/ राजधानीको होटल सोल्टी क्राउन प्लाजामा आज साँझ सौन्दर्य, आत्मविश्वास र प्रतिभाको भव्य संगम हुँदैछ । मिस युनिभर्स नेपाल र मिस अर्थ नेपालको दशौँ संस्करणको ग्रान्ड फिनालेमा अन्तिम १४ सुन्दरीले आफ्नो प्रतिभा प्रस्तुत गर्दैछन् ।

देशका विभिन्न ठाउँबाट सहभागी ११० जना युवतीमध्ये विभिन्न चरणको प्रतिस्पर्धा पार गर्दै १४ जना अन्तिम चरणमा पुगेका हुन् । उनीहरूले आज साँझ ५ बजे सोल्टीको र्‍याम्पमा आत्मविश्वास र आकर्षक प्रस्तुतिसहित आफ्नो दाबेदारी प्रस्तुत गर्नेछन् ।

यसपटकको फिनालेमा बलिउड अभिनेत्री तथा पूर्व मिस युनिभर्स इन्डिया सेलीना जेटली र चर्चित मोडल मनिका विश्वकर्माको उपस्थितिले कार्यक्रमलाई थप आकर्षक बनाएको छ । उनीहरूले मुख्य निर्णायकका रूपमा अन्तिम १४ प्रतिस्पर्धीमध्येबाट उत्कृष्ट प्रतिभा छनोट गर्नेछन् ।

आयोजक ग्लोबल ग्ल्यामर भेन्चर्सकी निर्देशक संगिता पुरीले पछिल्ला तीन वर्षदेखि प्रतियोगितालाई व्यवस्थित रूपमा अघि बढाउँदै आएको बताइन् । उनका अनुसार आजको फिनालेबाट छनोट हुने दुई विजेताले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछन् ।

मिस युनिभर्स नेपालकी विजेताले पोर्तो रिकोमा आयोजना हुने मिस युनिभर्सको अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछिन् । त्यस्तै, मिस अर्थ नेपालकी विजेताले फिलिपिन्सको मनिलामा हुने मिस अर्थमा सहभागी हुँदै नेपाललाई विश्वमञ्चमा चिनाउने अवसर पाउनेछिन् ।

आयोजकका अनुसार प्रतियोगिता केवल सौन्दर्य प्रदर्शनमा सीमित छैन । आत्मविश्वास, बौद्धिकता, व्यक्तित्व, प्रतिभा र सामाजिक तथा वातावरणीय चेतनालाई पनि मूल्याङ्कनको आधार बनाइएको छ ।

त्यसैले आजको साँझ १४ सुन्दरीका लागि केवल र्‍याम्पमा उत्रिने अवसर मात्र होइन, अन्तर्राष्ट्रिय मञ्चतर्फको ढोका खोल्ने निर्णायक क्षणसमेत बनेको छ ।

सोल्टीको भव्य हलमा रातो कार्पेटदेखि झिलिमिली र्‍याम्पसम्म सजिएको वातावरणमा अब सबैको एउटै चासो छ—मिस युनिभर्स नेपालको ताज कसले पहिरिन्छिन् र मिस अर्थ नेपालको क्राउन कसको शिरमा सजिन्छ र ?


प्रतिक्रिया दिनुहोस्
ताजा समाचार