२३ बैशाख २०८१, आईतवार

क्षयरोग सम्बन्धी अन्तरक्रिया



धनगढी । नेपाल क्षयरोग निवारण संस्था, कैलालीको आयोजनामा शुक्रबार धनगढीमा स्थानीय स्वास्थ्य कार्यकर्ता तथा स्वयंसेविकाहरूबीच क्षयरोगसम्बन्धी अन्तरक्रिया भएको छ ।
कार्यक्रमको क्षयरोग निवारण संस्थाका केन्द्रीय सदस्य अम्बिकाप्रसाद उपाध्यायले उद्घाटन गरेका थिए । कार्यक्रम संस्थाका जिल्ला भूवन शर्माको अध्यक्षतामा भएको थियो ।
सो अवसरमा प्रशिक्षक डिल्लीराज लेखकले क्षयरोग निवारणका लागि समाज, परिवार तथा व्यक्तिले निर्वाह गर्नुपर्ने भूमिकाबारे जानकारी दिएका थिए ।
नेपालमा करिब ४५ प्रतिशत मानिसमा क्षयरोगको किटाणुको संक्रमण हुने गरेको अध्ययन तथ्यांकले देखाएको छ । करिब ८० हजार जना सक्रिय क्षयरोगबाट ग्रस्त रहेका छन् भने हरेक वर्ष ४० हजार नयाँ क्षयरोगी थपिने गरेका छन् । क्षयरोग निवारणका लागि नेपालमा स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा औषधि खाने पद्धति (डट्स पद्धति) लागू गरिएको छ ।
कार्यक्रममा धनगढी उपमहानगरपालिका वडा नम्बर १ का स्वास्थ्य स्वयंसेविकाहरू तथा संस्थाका पदाधिकारी र सदस्यहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार