३१ बैशाख २०८१, सोमबार

कोलिनसँग डेटमा स्कारलेट



स्कारलेट जोहान्सनको लभ लाइफमा कुनै सस्पेन्स थ्रिलर फिल्मभन्दा कम्ती टर्न एन्ड ट्वीस्ट छैन । प्रेमी वकिल केभिन योर्नसँग हात समाएर हिँड्न थालेको दुई साता नबित्दै एभेन्जर्स नायिका यतिबेला कोलिन जोस्टसँग हिमचिम बढाइरहेकी छन् ।
स्कारलेट र कोलिनको बढो निकटताले यतिबेला हलिउड गर्माएको छ । जानकारहरू यस सम्बन्धमा स्कारलेट कोलिनप्रति अति नै समर्पित देखिएको बताउँछन् । त्यसो त अहिले सर्वाधिक व्यस्त नायिकामा पर्ने स्कारलेट कामलाई समेत पन्छाएर पटक–पटक प्रेमीलाई भेट्न पुग्न थालेकी छन् । हालैको एक विकेन्डमा प्रेमीसँग छुट्टी मनाइरहँदा स्कारलेटलाई पापाराजीले भेटेपछि कोलिनसँगको नयाँ सम्बन्ध बाहिरिएको हो ।
त्यसो त स्कारलेट प्रेमका मामिलामा खप्पिस मानिन्छिन् । सिन पेनदेखि रायन रेनोल्ड्ससम्म आइपुग्दा उनका प्रेमीहरूको सूची अलि लामै हुन्छ । छोटा सम्बन्ध गाँस्दै आएकी नायिका खासमा युवकहरूसँग के कारणले आकर्षित हुन्छिन् र छिट्टै विकर्षित पनि हुन्छिन् भन्ने यतिबेला सबैको चासोको विषय बन्न थालेको छ ।
सन् २००८ मा रायनसँग पहिलो विवाह गरेकी स्कारलेटको उक्त वैवाहिक सम्बन्ध तीन वर्ष नपुग्दै टुटेको थियो भने दोस्रो विवाह उनले सन् २०१४ मा रोमेन डुरिकसँग गरेकी थिइन् । उक्त विवाह पनि गतवर्ष टुटेको थियो भने यति बेला कानुनी रूपमा किनारा लाग्ने क्रममा छ । हलिउडकी मोर्डन सेक्स सिम्बोलमध्ये अग्रपंक्तिमा आउने स्कारलेट गतवर्षकी सर्वाधिक कमाइ गर्ने नायिकामा समेत परेकी थिइन् ।

-एजेन्सी

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार