१५ बैशाख २०८१, शनिबार

लिजाको ख्याति



मोडलिङ हुँदै अभिनयमा छिरेकी लिजा हेडन धेरैवटा फिल्ममा देखिएकी छैनन् । जतिवटामा काम गरेकी छन्, तिनमा पनि लामो भूमिका छैन । यद्यपि, बलिउडमा उनको ख्याति ठूलो छ । लिजाको कामले सधैं प्रशंसा पाउने गरेको छ । जस्तो कि उनले फिल्म ‘क्विन’ मा निर्वाह गरेको ‘विजया लक्ष्मी’ को छोटो चरित्रलाई समीक्षकले सराहना गरे । पछिल्लोपटक उनी ‘ए दिल हे मुस्किल’ मा देखा परिन् ।
लिजाको असली नाम एलिजाबेथ म्यारी हेडन हो । यो नाम उनकी अस्ट्ेरलियन आमा, आना हेडन र मलायली बुबा बेंकटले राखिदिएका थिए । लिजाले कलेजमा मनोविज्ञान पढेकी थिइन् । तर, अस्ट्ेरलिया छँदै उनलाई मोडलिङको अफर आयो । सन् २००७ मा भारत आएपछि पनि उनलाई काम दिनेको ओइरो लागेको थियो । ‘नेकेड’ भन्ने ब्युटी प्रोडक्ट ब्रान्डकी प्रणेता लिजा हुन् भन्ने कुरा धेरै कमलाई थाहा छ ।
उनले अस्ट्रेलियाको एन्टी–स्ट्रेच मार्क क्रिमको विज्ञापनमा सर्वप्रथम अभिनय गरेकी थिइन् । भारतमा भने उनले पहिलो पटक कारको विज्ञापनमा खेलिन् । ‘मनाली ट्रेन्स…’ गीतको भिडियोमा आएपछि लिजाको चर्चा एकाएक चुलिएको थियो । भिडियोमा देखिनुअघि उनले पाँच वर्ष लगातार भरतनाट्यम सिकेकी थिइन् । फिल्ममा भने अभिनेता अनिल कपुरले लिजालाई ब्रेक दिएका थिए । त्यो पनि कसरी भने, कफी सपमा लिजालाई देखेपछि अनील आफैं बोल्न गएको बताइन्छ ।
लिजाको पहिलो फिल्म ‘अइसा’ हो । यसमा काम गर्ने टुंगो भएपछि उनी अमेरिका गएर अभिनय कौशलबारे अध्ययन गरेकी थिइन् । उताबाट फर्केपछि उनले हिन्दी लवज सुधार्न अर्को कक्षा लिनुपर्‍यो । उनलाई बलिउडमा ‘डाउन टु अर्थ’ मान्छे भन्ने गरिन्छ । उनी ठूला कुरा गर्ने वा पैसाको रबाफ देखाउने गर्दिनन् । उनले आफ्नो आदर्श व्यक्ति युसेन बोल्टलाई मान्ने गरेकी छन् । ‘मलाई कुद्न मन पर्छ,’ लिजा भन्छिन्, ‘म्याराथनहरूमा भाग लिने गरेकी छु ।’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार