१० श्रावण २०८१, बिहीबार

११ कक्षाको परीक्षाका लागि ६० केन्द्र



धनगढी । आगामी असार १ गतेदेखि सञ्चालन हुने ११ कक्षाको वार्षिक परीक्षाका लागि ७ नम्बर प्रदेशका सात पहाडी जिल्लामा ६० वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ ।
डडेल्धुरा, डोटी, बैतडी, दार्चुला, बझाङ, बाजुरा, अछाममा गरी ६० वटा परीक्षा केन्द्र निर्धारण गरिएको राष्ट्रिय परीक्षा बोर्ड शाखा कार्यालय डडेल्धुराले जनाएको हो ।
सुदूरपश्चिमका सात पहाडी जिल्लाबाट परीक्षामा नियमिततर्फ १४ हजार दुई सय ४९ र आंशिकतर्फ चार हजार तीन सय ८७ जना गरी १८ हजार छ सय ३६ परीक्षार्थी सहभागी बन्ने राष्ट्रिय परीक्षा बोर्ड शाखा कार्यालय डडेल्धुराका प्रमुख युवराज पौडेलले जानकारी दिए ।
परीक्षामा सहभागी हुने परीक्षार्थीमध्ये डडेल्धुराबाट नियमिततर्फ एक हजार चार सय ११ जना र आंशिकतर्फ छ सय ७२ जना गरी दुई हजार ८४ जना परीक्षार्थी सहभागी हुने भएका छन् । डोटीबाट नियमिततर्फ एक हजार दुई सय ६४ र आंशिकतर्फ चार सय ४४, बैतडीबाट नियमिततर्फ तीन हजार पाँच सय ४० र आंशिकतर्फ आठ सय एक जना परीक्षार्थी सहभागी हुने भएका छन् ।
दार्चुलाबाट नियमिततर्फ एक हजार सात सय २५, आंशिकतर्फ दुई सय ४३ जना र बझाङबाट नियमिततर्फ दुई हजार चार सय २९, आंशिकतर्फ छ सय ३६ जना सहभागी हुने भएका छन् । बाजुराबाट नियमिततर्फ एक हजार छ सय ९९, आंशिकतर्फ छ सय ४३ जना रहेका छन् ।
अछामबाट नियमिततर्फ दुई हजार एक सय ८१, आंशिकतर्फ नौ सय २१ जना विद्यार्थी परीक्षामा सहभागी हुने भएका हुन् । परीक्षाको लागि सम्पूर्ण तयारी पूरा भइसकेको राष्ट्रिय परीक्षा बोर्ड शाखा कार्यालय डडेल्धुराका प्रमुख पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार