३१ बैशाख २०८१, सोमबार

दुई वडा पूर्ण खोपयुक्त घोषणा



धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–११ र गोदावरी नगरपालिका–९ (साविक वेलादेवीपुर गाविस) लाई शुक्रबार पूर्ण खोपयुक्त घोषणा गरिएको छ ।
साविक बेलादेवीपुरमा एक वर्षको अवधिमा दुई सय २६ बालबालिकाले ११ प्रकारका सबै खोप पाएपछि सो वडा (गाविस) लाई पूर्ण खोपयुक्त घोषणा गरिएको हो ।
स्थानीय पूर्ण खोप समन्वय समितिले आयोजना गरेको समारोहमा कैलाली प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले प्रतिवद्धतापत्रमा हस्ताक्षर गर्दै पूर्ण खोपयुक्त वडा घोषणा गरे ।
सो अवसरमा प्रमुख जिल्ला अधिकारी रिजालले बालबालिकाले समयमै सबै प्रकारका खोप पाएमा स्वस्थ राष्ट्र निर्माण गर्न सकिने बताए । उनले घोषणापछि पनि कुनै पनि बालबालिकाले खोपबाट वञ्चित हुनुपर्ने अवस्थाको सिर्जना हुन नदिन स्वास्थ्यकर्मीहरूलाई सजग रहन आग्रह गरे ।
कार्यक्रममा कैलाली स्थानीय विकास अधिकारी केशवप्रसाद विमलीले खोपले बालमृत्युदरमा मात्र नभई मातृ स्वास्थ्यमा पनि सुधार ल्याएको बताए । बालबालिकामा रोगको संक्रमण हुन नदिन र बाल मृत्युदरमा कमी ल्याउन सहयोग गरेको बताए ।
कार्यक्रममा वरिष्ठ जनस्वास्थ्य प्रशासक टंकप्रसाद चापागाईले कैलालीमा शुक्रबारसम्म साविकका २१ गाविसलाई पूर्ण खोप घोषणा गरिएको बताए ।
कार्यक्रममा पवेरा स्वास्थ्य चौकी ईञ्चार्ज भूपेन्द्रसिंह महराले पूर्ण खोप घोषणा गर्न समस्या नभएको तर, दिगो राख्न चुनौती रहेको बताए ।
गोदावरी नगरपालिका–९ का वडा सचिव खगेन्द्रप्रसाद चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा बेलादेवीपुर स्वास्थ्य चौकीका सिनियर अहेव देवराज विनाडीले स्वागत गरेका थिए ।
कार्यक्रममा बेलादेवीपुर स्वास्थ्य चौकीकी ईञ्चार्ज भगवती शाहले प्रगति विवरण प्रस्तुत गरेकी थिइन् । कार्यक्रमको सञ्चालन तपेन्द्र भूषालले गरेका थिए ।
कार्यक्रममा आमा समूह, महिला स्वयंसेविका, भलमन्सा, वडा नागरिक मञ्चका संयोजक लगायतलाई पूर्ण खोप घोषणा गर्ने कार्यक्रममा योगदान पुर्‍याएवापत भन्दै सम्मान गरियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार