२३ बैशाख २०८१, आईतवार

स्थानीय तह निर्वाचन : बाजुरामा काँग्रेसका उम्मेदवार छनोट



धनगढी । स्थानीय तह निर्वाचनका लागि नेपाली काँग्रेसले बाजुराका नौमध्ये आठ तहका प्रमुख/अध्यक्षका उम्मेदवारको छनोट गरिएको छ । त्यसैगरी, अधिकांश स्थानीय तहका उपप्रमुख/उपाध्यक्षको छनोट गरेको छ ।
बाजुरा सदरमुकाम मार्तडीमा सोमबारदेखि शुरु भएको काँग्रेसको बैठकले आठ वटा तहको लागि उम्मेदवारको टुंगो लगाएको जनाइएको छ । यद्यपि, उम्मेदवारहरूको सूची भने जेठ १२ मात्रै सार्वजनिक गर्ने बताइएको छ ।
काँग्रेस बाजुराको स्रोतअनुसार बुढीगंगा नगरपालिकमा दीपक शाहलाई प्रमुख र तारा थापा खातीलाई उपप्रमुखको उम्मेदवार बनाउने निर्णय भएको छ । शाह पार्टीका जिल्ला सचिव पनि हुन् ।
त्यस्तै, त्रिवेणी नगरपालिकामा काँग्रेसका पूर्व जिल्ला सभापति रामसिंह रावल नगर प्रमुखको उम्मेदवार चयन भएका छन् ।
सदरमुकाम मार्तडी समेत रहेको बडिमालिका नगरपालिकामा काँग्रेसका पुराना नेता पदम बडुवाललाई प्रमुखको उम्मेदवार छनोट गरिएका छन् । त्रिवेणी र बडिमालिका नगरपालिकामा उपप्रमुख पदका लागि उम्मेदवार अझैं छनोट भइसकेका छैनन् ।
स्रोतका अनुसार कोल्टी विमानस्थल समेत रहेको बुढीनन्दा नगरपालिकामा पदम गिरीलाई प्रमुख तथा रीता सिंहलाई उपप्रमुखको उम्मेदवार चयन गरिएको छ ।
त्यस्तै, छेडेदह गाउँपालिकामा नरबहादुर रावतलाई अध्यक्ष पदको उम्मेदवार छनोट गरिएको छ ।
गौमुल गाउँपालिकामा देवबहादुर रोकायालाई अध्यक्ष र उमा रोकायालाई उपाध्यक्ष पदको उम्मेदवार चयन गरिएको छ ।
त्यस्तै, हिमाली गाउँपालिकामा गोविन्द मल्ल र स्वामीकार्तिक गाउँपालिकामा भरत रोकायालाई अध्यक्ष पदको उम्मेदवार बनाइएको छ ।
ती गाउँपालिकामा एकदुई दिनभित्रै उपाध्यक्ष पदका उम्मेदवारको टुंगो लगाइने स्रोतले जनाएको छ । जिल्लाको पाण्डवगुफा गाउँपालिकामा भने उम्मेदवारको सोमबारसम्म टुंगो लागेको छैन ।
विगतका चुनावका आधारमा बाजुरामा काँंग्रेस र एमालेबीच नै प्रमुख प्रतिस्पर्धा हुने देखिएको छ । एमालेले बैशाखमा नै सबै नगरपालिका र गाउँपालिकाका प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष र वडाध्यक्ष तथा सदस्यहरूका उम्मेदवारको चयन गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार