२३ बैशाख २०८१, आईतवार

सूर्तीजन्य पदार्थ बिक्रीमा नियमन



बझाङ ।  बझाङमा स्थानीय प्रशासनले चुरोटबिंडी, सूर्तीखैनी, गुट्खा लगायतका सूर्तीजन्य पदार्थ बिक्रीका लागि नियमन शुरु गरेको छ ।
प्रशासनले खाद्यान्न सहितका उपभोग्य वस्तु बिक्री गर्ने पसलबाट सूर्तीजन्य वस्तु बिक्री गर्न रोक लगाएको छ ।
बझाङका सहायक प्रमुख जिल्ला अधिकारी तेजसिंहं कुँवरको नेतृत्वमा शनिबार जिल्ला सदरमुकाम चैनपुरमा गरेको बजार अनुगमनका क्रममा थोक तथा खुद्रा पसलमा सूर्तीजन्य वस्तु बिक्रीका लागि राखिएको पाइएकोले नियमन गर्नु परेको प्रशासनले जनाएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी कुँवरले सूर्तीजन्य प्रदार्थ नियन्त्रण र नियमन गर्ने ऐन–२०६८ ले गरेको व्यवस्था पूर्णरूपमा लागू गराइने बताए । ऐनले खाद्यान्न लगायत दैनिक उपभोग्य वस्तु र सूर्तीजन्य पदार्थ एउटै पसलमा राखेर बिक्री गर्न निषेध गरेको छ ।
सूर्तीजन्य वस्तुको कारोवार गर्नेले उद्योग वाणिज्य कार्यालय र आन्तरिक राजश्व कार्यालयबाट ईजाजत प्राप्त गरेर मात्र कारोबार गर्न पाइने व्यवस्था छ । त्यस्तै, अठार वर्ष उमेर नपुगेका र गर्भवती महिललाई सूर्तीजन्य वस्तु बिक्री गर्न नपाइने लगायतका व्यवस्थासम्बन्धी जानकारीमूलक सूचना टाँस्नु पर्ने व्यवस्था गरिएको छ ।
त्यस्तै, विद्यालय, मठमन्दिर, स्वास्थ्य संस्थासहित सार्वजनिक स्थलबाट कम्तिमा एक सय मिटर टाढा मात्र सूर्तीजन्य वस्तुको बिक्रीवितरण पसल राख्नु पर्ने ऐनले व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार