१० श्रावण २०८१, बिहीबार

मुटुरोगबारे सचेत हुनु आवश्यक



धनगढी । मुटुसम्बन्धी रोगबारे सर्वसाधारणलाई सचेत र सजग हुन विशेषज्ञहरूले सुझाएका छन् । विशेषज्ञहरूले ‘मुटुरोग भन्ने वित्तिकै हृदयघात’ नबुझ्न पनि बताएका छन् । ‘मुटुरोग विभिन्न प्रकारका छन्’ शनिबार नेपाल हृदयरोग निवारण प्रतिष्ठानले धनगढीमा आयोजना गरेको सरोकारवालाहरूसंगको अन्तरक्रियामा डाक्टर प्रकाशराज रेग्मीले भने– ‘मुटुरोग सम्बन्धमा अझैं सर्वसाधारणमा जागरुकता छैन ।’
‘हृदयघात भइसकेपछि पनि अस्पतालमा चेकजाँच गर्न जान मान्दैनन्’ उनले भने– ‘त्यो किन भने अझै पनि हामीमा चेतनाको अभाव छ ।’ उनले मुटुरोगबाट हुने मृत्युदर न्यूनिकरण गर्न सचेतना फैलाउन जरुरी रहेको बताए ।
नेपालमा बर्सेनि मुटुको समस्याका कारण हुने मृत्युदरमा बृद्धि आइरहेकोले खानपिन, नियमित चेकजाँच, स्वास्थ्य परीक्षण, नियमित व्यायाम आवश्यक रहेको उनले बताए ।
उनले नेपालमा बर्सेनि एक हजार बालबालिका बाथ मुटुरोग समस्याबाट मृत्यु हुनेको गरेकाले सो मृत्युदरमा कमी ल्याउन शिविर आयोजना जारी रहेको बताए । डाक्टर रेग्मीले बालबालिकाको टन्सिल बढ्दा औषधी नगरे मुटुरोगको सम्भावना बढ्ने बताए ।
उनले घाँटी दुख्ने, टन्सिल बढ्ने, निल्न गाह्रो हुने, घाँटीको बाहिर गिर्खा आउने, ज्वरो आउने लगायतका लक्षण १५ वर्ष मुनिका बालबालिकामा देखिएमा तत्काल उपचार गराउनुपर्ने सल्लाह दिए ।
विश्वभरी एक करोड ८० लाखभन्दा बढी मानिस बर्सेनि मुटुरोगका कारण मर्ने गरेको तथ्यांकले देखाएको बताउँदै विश्व स्वाथ्य संगठनले विगतमा बाथ मुटुरोग सम्बन्धी ध्यान नदिए पनि अहिले पहलका लागि अघि बढिरहेको उनले बताए । बाथ मुटुरोगले मुटुरोगीको मृत्युदरमा बृद्धि ल्याएको भन्दै विश्व स्वास्थ्य संगठनले न्यूनिकरणका लागि कार्यक्रम अघि बढाउने तयारी गरिरहेको बताए ।
डा. रेग्मीले बाथ मुटुरोगको समयमै उपचार हुने हो र रोग लागि हाले पनि औषधी सेवन गरेमा नियन्त्रण गर्न सकिने बताए । उनले जनचेतना अभाव, अशिक्षाकै कारण यो रोगबारे धेरै मानिस अनभिज्ञ रहेको बताए ।
‘टन्सिल बढ्ने वित्तिकै हामी तातोपानी र नूनले कुुल्ला गर्ने गर्छौ’ डा. रेग्मीले भने– ‘यो उपचार विधी होइन, केही क्षण त सञ्चो हुन्छ, तर यसले हाम्रो मुटुलाई असर पुर्‍याउँछ ।’ उनले उपचारनै यसको उपयुक्त विधी रहेको भन्ने ज्ञान बढाउन जरुरी रहेको बताए ।
प्रतिष्ठानका सभापति डिल्लीराज पन्तको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार