३ आश्विन २०८१, बिहीबार

दुई युवतीको उद्दार



कञ्चनपुर । कञ्चनपुरको गड्डाचौकी नाका भएर भारततर्फ लैजादै गरेका दुई युवतीको आइतबार उद्दार गरिएको छ ।
माइती नेपाल कञ्चनपुरले उनीहरूको उद्दार गरेको थियो । ती दुई युवतीलाई वैदेशिक रोजगारको प्रलोभनमा भारततर्फ लैजाँदै गरेको अवस्थामा उद्दार गरिएको जनाइएको छ ।
काठमाडौँबाट भारतको नयाँदिल्लीतर्फ जाँदै गरेको बा३ख ४१६८ नम्बरको बसमा सवार सिन्धुपलाञ्चोककी २२ वर्षीया र सोलुखुम्बुकी ३० वर्षीया युवतीको सीमा नाकाबाट उद्धार गरिएको हो ।
‘उद्धार गरिएका एकजना युवतीलाई लामाको कपडा पहिराई धर्मशालामा पठाउने बहानामा भारततर्फ पठाउन लागेको अवस्थामा उद्धार गरेका छौँ’ माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले भनिन् ।
अर्की उद्धार गरिएकी युवतीलाई समेत शेर्पा कपडा लगाउन भने पनि उनले नलगाएको सोधपुछका क्रममा बताएको उनले जानकारी दिइन् ।
उनीहरूमध्ये एक जनालाई भारतको बाटो हुँदै दुबई र अर्कीलाई किर्गिस्तान पठाउने भन्दै दलालले काठमाडौँबाट बसमा पठाएको बताइएको छ ।
‘धार्मिक कपडा पहिराई युवतीलाई अवैध रूपमा भारततर्फ पठाउन लागेको अवस्थामा पहिलोपटक फेला पारेका छौँ,’ संयोजक भट्टले भनिन्, ‘यसअघि विवाह गर्ने, रोजगारीमा लगाइदिने र सीमावर्ती बजारमा किनमेल गर्ने बहानामा युवतीलाई झुक्याई भारततर्फ लग्ने गरेको पाइएको थियो ।’
दलालहरूले युवतीलाई रोजगारीको प्रलोभन दिई सीमा नाका पार गर्न नयाँ तरिका अपनाउन थालेको उनले बताइन् । युवतीलाई दलालले धार्मिक कपडा लगाएर गए सीमा क्षेत्रमा कसैले नरोक्ने भएकाले कपडा पहिराउन लगाएका थिए ।
कैयौँलाई यसैगरी सीमा नाका पार गरेका छौँ तिमीहरू पनि सीमा पार हुन्छौँ, सीमा पार भएपछि दिल्ली बसपार्कमा लग्न आउने बताएर पठाएको युवतीले बताएका छन् । सीमा नाकाबाट उद्धार गरिएका दुवै युवतीलाई माइती नेपालको महेन्द्रनगरस्थित आवद्यिक गृहमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार