६ कार्तिक २०८१, मंगलवार

बाम गठबन्धनको विजय जुलुस



धनगढी । कैलालीको निर्वाचन क्षेत्र नम्बर ३ र ४ पनि जितेको बाम गठबन्धनले धनगढीमा विजय जुलुुस निकालेको छ ।
जुलुसमा क्षेत्र नम्बर ३, ४ र ५ का निर्वाचित उम्मेदवारहरूको सहभागिता थियो । गठबन्धनले आइतबार दिउँसो नै ५ नम्बर क्षेत्र पनि जितेको थियो ।
धनगढीको क्याम्पस रोड, एमाले पार्टी कार्यालय पशुपतिटोल, भन्साररोड, जिल्ला समन्वय समिति लगायतका विभिन्न स्थानबाट निस्केको जुलुसमा स्वतफूर्तरूपमा सर्वसाधारणको उपस्थिति थियो ।
धनगढीको शहिदगेटमा आयोजित कोण सभालाई सम्बोधन गर्दै क्षेत्र नम्बर ४ का नवनिर्वाचित सांसद तथा माओवादी केन्द्रका सचिवालय सदस्य लेखराज भट्टले अब बन्ने सरकारले नमूना काम गरेर जनतालाई राहत दिने बताए ।
एमालेका वैकल्पिक केन्द्रीय सदस्य तथा क्षेत्र नम्बर ५ का सांसद नारदमुनी रानाले पनि अबको सरकारले जनताले अपेक्षा गरे अनुरूपमा जनमुखी काम गर्ने विश्वास व्यक्त गरे ।
यस्तै, गरेर गठबन्धनले अत्तरिया, चौमाला, लालपुर, वनवेहडा, राजपुर, वडैपुर, शंकरपुर, मसुरिया, पहलमानपुर, सुखड र हसुलिया लगायतका स्थानमा कोणसभा गरेको छ ।
विभिन्न सभालाई नेता भट्ट, एमाले जिल्ला अध्यक्ष तथा कैलाली ४ प्रदेश १ का सदस्य दीर्घ सोडारी, प्रदेशसभा २ का सांसद कृण्णराज सुवेदीले सम्बोधन गरेका थिए । क्षेत्र नम्बर ३ अन्तर्गत भएका हसुलिया र सुखडका सभालाई नव निर्वाचित प्रतिनिधिसभाका सदस्य तथा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य गौरीशंकर चौधरी, माओवादीका अर्का पोलिटव्यूरो सदस्य तथा प्रदेशसभा १ का सांसद वीरमान चौधरी, प्रदेश सभा २ का सांसद तथा एमाले नेता अमर साउद, पूर्व सभासद हरी श्रीपाइली लगायतले बोलेका थिए ।
आइतबार राति प्राप्त परिणामअनुसार क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सचिवालय सदस्य लेखराज भट्ट विजयी भएका थिए । सो क्षेत्रको प्रदेश १ मा एमाले कैलालीका अध्यक्ष दीर्घ सोडरी र २ मा एमालेकै नेता कृष्णराज सुवेदी विजयी भएका थिए ।

बाम गठबन्धनले धनगढीमा निकालेको विजय जुलुस

यस्तै कैलाली क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा माओवादी नेता गौरीशंकर विजयी भएका छन् ।
कैलाली ५ मा भने आइतबार दिउँसो नै परिणाम आइसकेको थियो । क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्यमा नारदमुनी राना प्रदेश १ मा एमाले कैलालीका उपसचिव नेपालू चौधरी विजयी भएका थिए । प्रदेश २ मा भने कांग्रेसनेता डिल्लीराज पन्त विजयी भए ।
कैलाली जिल्लाका मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद अर्यालका अनुसार कैलाली क्षेत्र नम्बर १ र २ को परिणाम भने मंगलबारसम्म आउने छ । १ मा टीकापुर घटनाका फरार अभियुक्त रेशम चौधरी र २ मा एमालेका उम्मेदवार झपट रावलको अग्रता रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार