६ कार्तिक २०८१, मंगलवार

प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन : मत गणना जारी, सात नम्बरमा बाम गठबन्धनको वर्चश्व



धनगढी । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको मत गणना जारी रहेको छ । कैलाली सहित प्रदेश नम्बर ७ का पाँच जिल्लामा मतगणना जारी छ । प्रदेश नम्बर ७ का पहिलो चरणमा भएका चार जिल्ला बाजुरा, बझाङ, दार्चुला र बैतडीका सबै चार प्रतिनिधि सभा तथा आठ वटा प्रदेश सभा सदस्यको मतगणना नतिजा सार्वजनिक भइसकेको छ । ती चार वटै जिल्लामा प्रतिनिधि सभा तथा प्रदेश सभामा बाम गठबन्धनले विजय प्राप्त गरेको छ ।
दार्चुलामा गणेशसिंह ठगुन्ना, बझाङमा भैरवबहादुर सिंह, बैतडीमा दामोदर भण्डारी र बाजुरामा लालबहादुर थापा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।
त्यस्तै, शनिबार रातिसम्म मतगणना जारी रहेका पाँच जिल्लाका १२ स्थानमध्ये अधिकांस सिटमा पनि बाम गठबन्धनको नै अग्रता रहेको छ ।
कैलालीका प्रतिनिधि सभाका पाँच सिटमध्ये शनिबार रातिसम्म बाम गठबन्धनका उम्मेदवार अगाडि रहेका छन् । कैलालीको क्षेत्र नम्बर १ मा राष्ट्रिय जनता पार्टीका उम्मेदवार रेशम चौधरी निकटतम प्रतिस्पर्धीभन्दा निकै फराकिलो अन्तरले अगाडि रहेका छन् ।
प्रदेश नम्बर ७ का प्रदेश सभा सदस्यका अधिकांस स्थानमा पनि बाम गठबन्धन नै अगाडि देखिएको छ ।
प्रदेश नम्बर ७ मा मतगणना जारी रहेका जिल्लामध्ये शनिबार रातिसम्मको मत गणनाअनुसार प्रधानमन्त्री एवं नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा अगाडि रहेका छन् ।
गृह जिल्ला डडेल्धुराबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार प्रधानमन्त्री देउवाले १५ हजार छ सय ४२ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी बाम गठबन्धनका उमेदवार माओवादी नेता खगराज भट्टले नौ हजार चार सय २४ मत प्राप्त गरेका छन् ।
त्यस्तै, अछाम निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली काँग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार पुष्पबहादुर शाहले झिनो अग्रता लिएका छन् । अछाम क्षेत्र नम्बर १ मा एमाले उपाध्यक्ष भीम रावल प्रतिस्पर्धी नेपाली काँग्रेसका जिल्ला सभापति भरतकुमार स्वाँरभन्दा १८ सय मत बढी मतले अगाडि रहेका छन् ।
त्यस्तै कञ्चनपुरका सबै तीन क्षेत्र र डोटीमा पनि बाम गठबन्धनको अग्रता रहेको छ ।
कैलालीमा शुक्रबारदेखि मत गणना शुरु भएको थियो । मतगणना शुरु भएदेखिनै पाँचवटै निर्वाचन क्षेत्रमा काँग्रेस पछि रहेको छ ।
कैलालीको क्षेत्र नम्बर ५ मा शनिबार रातिसम्म पनि बाम गठबन्धनका उम्मेदवार नारदमुनी रानाले अग्रता कायम राखेका छन् ।
राति १० बजेसम्मको मत गणना परिणामअनुसार बाम गठबन्धनका उम्मेदवार रानाले १७ हजार १९७ मत प्राप्त गरेका छन् ।
उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार डाक्टर आरजु राणा देउवाले १५ हजार १६६ मत प्राप्त गरेका छन् ।
त्यस्तै, क्षेत्र नम्बर ४ मा बाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका नेता लेखराज भट्ट निकै अगाडि रहेका छन् ।
उनले १२ हजार ६१० मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार सुनीलकुमार भण्डारीले सात हजार ९९५ मत प्राप्त गरेका छन् ।
त्यस्तै, क्षेत्र नम्बर ३ मा बाम गठबन्धनका उम्मेदवार गौरीशंकर थारूले सात हजार ९२२ मत प्राप्त गरेका छन् । भने नेपाली काँग्रेसका उम्मेदवार रामजनम चौधरीले छ हजार ४२२ मत प्राप्त गरेका छन् ।
प्रदेश नम्बर २ मा बाम गठबन्धनका उम्मेदवार झपटबहादुर रावलले दुई हजार १६ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार मोहनसिंह राठोरले एक हजार १०९ मत प्राप्त गरेका छन् ।
कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय जनता पार्टीका उम्मेदवार रेशम चौधरीले ५ हजार ४१५ मत प्राप्त गरेका छन् ।
क्षेत्र नम्बर १ का बाम गठबन्धनकी उम्मेदवार मदनकुमारी शाह (गरिमा) ले एक हजार ३६९ मत प्राप्त गरेकी छिन् भने नेपाली काँग्रेसकी उम्मेदवार ईश्वरी न्यौपानेले ९२१ मत प्राप्त गरेका छन् ।
उता, डडेल्धुराको प्रदेश सभा ‘क’ नेकपा एमालेका पठानसिंह बोहरा विजयी भएका छन् । उनले निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेदवार रघुवीर भट्टलाई दुई हजार दुई सय ६९ मतले पराजित गरे ।
बोहराले १३ हजार पाँच सय ६३ मत प्राप्त गरे भने कांग्रेस उमेदवार भट्टले ११ हजार तीन सय ९४ मत प्राप्त गरे ।
डडेल्धुराको प्रदेश सभा ‘ख’ मा कांग्रेस उमेदवार कर्णबहादुर मल्ल अगाडि रहेका छन् । उनले १० हजार सात सय ९४ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी एमालेका डाक्टर ताराप्रसाद जोशीले नौ हजार आठ सय चार मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार