६ कार्तिक २०८१, मंगलवार

आम निर्वाचन–२०७४ : प्रदेश नम्बर ७ मा बाम गठबन्धन अगाडि



धनगढी । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको मतगणना आउने क्रम जारी छ । पछिल्लो मतगणनाअनुसार प्रदेश नम्बर ७ मा बाम गठबन्धन बलियो देखिएको छ ।
प्रदेश नम्बर ७ का बाजुरा, बझाङ र बैतडीमा बाम गठबन्धन विजयी भएको छ । शुक्रबार अबेर रातिको मतगणना परिणामअनुसार प्रदेश नम्बर ७ का प्रतिनिधि सभा सदस्यका सबै १६ स्थानमध्ये अधिकांसमा बाम गठबन्धनका उम्मेदवार अगाडि रहेका छन् ।
कैलालीको बहुचर्चित निर्वाचन क्षेत्र नम्बर ५ मा प्रारम्भिक मतगणना परिणामअनुसार बाम गठबन्धन अगाडि देखिएको छ ।
रातिको १० बजेसम्मको मतगणना परिणामअनुसार प्रदेश नम्बर ५ मा बाम गठबन्धनका उम्मेदवार नारदमुनी रानाले ३२२७ मत प्राप्त गरेका छन् । त्यस्तै, नेपाली काँग्रेसका उम्मेदवार डाक्टर आरजु राणा देउवाले २३६५ मत प्राप्त गरेकी छन् ।
त्यस्तै, राष्ट्रिय जनता पार्टीका उम्मेदवार लक्ष्मण थारूले १६५० मत प्राप्त गरेका छन् ।
कैलाली निर्वाचन क्षेत्र नम्बर ५ को प्रदेश सभा सदस्य क्षेत्र ख का नेपाली काँग्रेसका उम्मेवार डिल्लीराज पन्त अगाडि रहेका छन् ।
उनले १२४८ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी बाम गठबन्धनका रमेश धामीले ७४२ मत प्राप्त गरेका छन् ।
कैलालीको क्षेत्र नम्बर ५ को प्रदेश सभा सदस्य क क्षेत्रमा बाम गठबन्धनका उम्मेदवार अगाडि देखिएका छन् । बाम गठबन्धनका उम्मेदवार नेपालु चौधरीले १०६२ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार जीवन रानाले ६७२ मत प्राप्त गरेका छन् ।
उता, कैलालीको निर्वाचन क्षेत्र नम्बर १ मा भने राष्ट्रिय जनता पार्टी अगाडि रहेको छ । राष्ट्रिय जनता पार्टीका उम्मेदवार रेशम चौधरीले ६९० मत प्राप्त गरेका छन् । रेशम २०७२ साल भदौमा भएको टीकापुर घटनाका आरोपित हुन् । उनी हाल फरार अवस्थामा छन् । क्षेत्र नम्बर १ मा बाम गठबन्धनका उम्मेदवार मदनकुमारी शाह (गरिमा) ले १५९ प्राप्त गरेकी छन् । त्यस्तै, नेपाली काँग्रेसका उम्मेदवार ईश्वरी न्यौपानेले ७६ मत प्राप्त गरेकी छन् ।
कैलालीको क्षेत्र नम्बर ४ मा शुक्रबार राति मतगणना शुरु भएको छ ।

बझाङमा बाम गठबन्धन विजयी
बझाङबाट हाम्रा सहकर्मी ललित सिंहले पठाएको समाचारअनुसार प्रतिनिधि सभा र प्रदेश सभामा बाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।
शुक्रबार दिउँसो घोषणा भएको अन्तिम मतगणना परिणामअनुसार बाम गठबन्धनका भैरवबहादुर सिंह प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । उनले ३४ हजार छ सय १२ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी पृथ्वीबहादुर सिंहले २६ हजार नौ सय १० मत प्राप्त गरे ।
बझाङको प्रदेश (क) मा एमालेका उम्मेदवार अर्जुनबहादुर थापा विजयी भएका छन् । उनले १७ हजार आठ सय ६८ मत प्राप्त गरे भने निकटतम प्रतिद्वन्द्वी चन्द्रादेवी जोशीले १३ हजार एक सय ९७ मत प्राप्त गरिन् ।
त्यस्तै, प्रदेश (ख) मा नेकपा माओवादी केन्द्रकी उम्मेदवार देवकी मल्ल विजयी भइन् । उनले १६ हजार सात सय ४३ मत प्राप्त गरिन् भने निकटतम प्रतिद्वन्द्वी नरेशबहादुर सिंहले १४ हजार दुई सय ४२ मत प्राप्त गरे ।

बाजुरामा पनि बाम गठबन्धन विजयी
अनुमोदन सहकर्मीका अनुसार बाजुरामा पनि बाम गठबन्धन विजयी भएको छ ।
बाजुराको प्रदेश सभा (क) मा नेकपा एमालेका बल्देव रेग्मी विजयी भएका छन् । उनले नौ हजार आठ सय ४० मत प्राप्त गरे ।
उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका जनकराज गिरीले आठ हजार तीन सय एक मत प्राप्त गरे ।
प्रदेश सभा सदस्य ख मा पनि बाम गठबन्धन विजयी भएको छ । सो क्षेत्रबाट नेकपा एमालेका प्रकाश शाह विजयी भएका छन् । उनले १८ हजार एक सय ८६ मत प्राप्त गरे ।
उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका पदमबहादुर शाहीले १४ हजार नौ सय ७७ मत प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार