६ कार्तिक २०८१, मंगलवार

सन्दर्भ: अन्तर्राष्ट्रिय अपाङ्ता दिवस : भन्छन्– दलहरूले वास्तै गर्दैनन्



धनगढी । नन्दराज भट्ट शारीरिक रूपले अशक्त व्यक्ति हुन् । मंसिर २१ गते हुन लागेको प्रतिनिीध सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनमा उनी समानुपातिक तर्फबाट उम्मेदवार छन् ।
कैलालीमा झण्डै १५ हजारभन्दा बढी अपाङ्गता भएका व्यक्तिहरू रहे पनि ठूला कुनै पनि दलहरूले अपाङ्गता भएका व्यक्तिलाई उम्मेदवार बनाएका छैनन् । लोकतन्त्रमा सबैको समान स्थान र अधिकार हुने भए पनि अपाङ्गता भएका व्यक्तिहरू अझैं पनि वञ्चित रहेको अवस्था छ । निर्वाचनमा राजनीतिक दलले उम्मेदवारी चयन गर्दा समावेशी सिद्धान्त अपनाउनु पर्ने संवैधानिक व्यवस्था छ, तर अपाङ्गता भएका व्यक्तिको हकमा यो व्यवस्था अझैं प्रभावकारी हुनसकेको दैखिदैन ।
नेपालको संविधान २०७२ ले दलित, महिला, आदिवासी, जनजाति, मुस्लिम, अपाङ्ता भएका व्यक्ति लगायतलाई अनिवार्य सिटको व्यवस्था गरेको छ । अपाङ्गता भएका व्यक्तिका लागि कानुनी व्यवस्था भए पनि दलहरूबाट उपेक्षित हुनुपरेको अपाङ्गता भएका व्यक्तिहरूको अनुभव छ । कुनै पनि दलले अपाङ्गता भएका व्यक्तिलाई प्रत्यक्षतर्फको उम्मेदवार बनाएका छैनन् ।
उनले अपाङ्गता भएका व्यक्तिहरूका समस्या अझै समाधान हुन नसकेको र राज्यले नै अपाङ्गता भएका व्यक्तिलाई उपेक्षा गरेको बताए । ‘अपाङ्गता भएका व्यक्तिले अरु अपाङ्गता भएको व्यक्तिको समस्या राम्ररी बुझ्न सक्छ’ भट्टले आफूले स्थानीय तहको निर्वाचनमा एक जना अपाङ्गता भएको व्यक्तिलाई सहभागिता गराउन आग्रह गर्दा पनि कसैले नसुनेको बताए ।
अपाङ्गता भएका व्यक्तिहरूले राज्यले अपाङ्गता भएका व्यक्तिहरूलाई नि:शुल्क शिक्षा, स्वास्थ्य, यातायातमा भाडामा छुटको व्यवस्था गरेका भए पनि व्यवहारिक रूपमा कार्यान्वयन हुन नसकेको गुनासो गर्छन् ।
‘एउटै समयमा लागू भएको वृद्ध भत्ता पटकपटक बढाइयो, तर सँगै वृद्धि भएको अपांग भत्ताचाहिँ नबढाउनुको कारण के हो ?’ उनीहरूको प्रश्न छ ।

आज अपाङ्गता दिवस
आज २६ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस । ‘सबैका लागि दिगो र समातामुलक समाज उन्मुख रूपान्तरण’ भन्ने नाराका साथ दिवस विभिन्न कार्यक्रम गरी कैलालीमा मनाइन लागेको छ ।
दिवसको अवसरमा अपाङ्ता भएका क्षेत्रमा काम गर्ने विभिन्न संघ/संस्थाले आज अपाङ्ता अधिकार ऐन र सवालका विषयमा अन्तरक्रिया कार्यक्रम गर्न लागेको छ ।
यस्तै, दिवसको अवसरमा अपाङ्ता भएका क्षेत्रमा काम गरिरहेका विभिन्न व्यक्तिहरूलाई सम्मान तथा प्रशंसापत्र वितरण गरिने जनाइएको छ । कैलाली प्रमुख जिल्ला अधिकारी र नेपाल पत्रकार महासंघका कैलाली अध्यक्ष जगत साउँदलाई सम्मान गर्नुका साथै, अनुमोदन दैनिकका संवाददाता शेरबहादुर ऐरलाई प्रशंसापत्र वितरण गरिने आयोजकले जानकारी दिएको छ ।

मंसिर १७ गते (epepar)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार