६ कार्तिक २०८१, मंगलवार

लोकतन्त्र वा कम्युनिष्ट शासन छान्ने जिम्मा मतदाताको– आरजु



धनगढी । काँग्रेस नेतृ डाक्टर आरजु देउवाले कुन पार्टीलाई किन मत दिने वा नदिने भन्नेबारे गम्भीरतापूर्वक सजग भएर सोच्न आम मतदातालाई आह्वान गरेकी छन् ।
‘यो निर्वाचन शासन प्रणाली छनोटको अवसर हो’ मंगलबार नेपाली काँग्रेस कैलाली अछाम सम्पर्क समितिद्वारा आयोजित अन्तरक्रियामा क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार डाक्टर आरजुले भनिन्– ‘लोकतान्त्रिक शासन कि अधिनायकवादी शासन छनोट गर्ने भन्ने तपाईं मतदाताहरूको जिम्मामा रहेको छ ।’
उनले विश्वमा हाल कम्युनिष्ट व्यवस्था रहेका चार वटा मुलुकमा जनताको आर्थिक अवस्था निकै दयनीय रहेको चर्चा गरिन् । ‘कम्युनिष्ट र उदार लोकतान्त्रिक शासन व्यवस्थामा जनताको आर्थिक अवस्था तथा नागरिक अधिकारको अवस्थाबारे जान्न दक्षिण कोरिया र उत्तर कोरियाको अवस्था हेरे पुग्छ’ उनले भनिन्– ‘एउटै मुलुक कोरिया दुई देशमा विभाजन भयो ।’ दक्षिण कोरियामा लोकतान्त्रिक शासन स्थापित भयो र उत्तर कोरियामा कम्युनिष्ट । अहिले दक्षिण कोरियाको प्रतिव्यक्ति वार्षिक आम्दानी ३६ हजार अमेरिकी डलर भन्दा बढी छ, जबकी उत्तर कोरियाको प्रतिव्यक्ति आम्दानी वार्षिक एक हजार आठ सय डलर मात्रै छ ।
नेतृ डाक्टर आरजुले काँग्रेसले सम्पूर्ण नेपाली जनतालाई आउँदा केही वर्षभित्र कम्तिमा मध्यम वर्गीय बनाउने अठोट लिएको बताइन् । ‘यो लोकतान्त्रिक शासनबाट मात्रै सम्भव छ’ उहाँले काँग्रेसले एकतन्त्रीय राणाशासन समाप्त पारेर प्रजातान्त्रिक व्यवस्था ल्याउने क्रममा नेपाल र नेपाली जनताको द्रुत समृद्धिको पनि अठोट गरेको स्मरण गर्न सबैमा आग्रह गरिन् ।
कार्यक्रममा प्रदेश सभा सदस्यका उम्मेदवारद्वय डिल्लीराज पन्त र जीवनकुमारी रानाथारू, राप्रपाका केन्द्रीय सदस्य जनककुमारी कुँवर र धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले मन्तव्य व्यक्त गरेका थिए ।
सम्पर्क समितिका कार्यबाहक अध्यक्ष भीमबहादुर कुँवरको अध्यक्षतामा भएको कार्यक्रमको सचिव तपेन्द्र भूषालले सञ्चालन गरेका थिए भने सल्लाहकार नृप सुनारले स्वागत गरेका थिए ।
गदरियामा कृषि क्याम्पस स्थापना गर्ने प्रतिवद्धता
यसैबीच, नेतृ डाक्टर राणाले कैलालीको गदरियामा कृषि क्याम्पस स्थापना गर्ने प्रतिवद्धता व्यक्त गरेकी छन् ।
मंगलबार चुनावी प्रचारप्रसारका क्रममा कैलारी गाउँपालिकाको बेनौली र सेमरानामा आयोजित चुनावी सभामा नेतृ देउवाले गाउँमै कृषि क्याम्पस खुलेमा कृषकको सीपज्ञान वृद्धिमा टेवा पुग्ने र कृषिको आधुनिकीकरणमा ठूलो सघाउ पुग्ने चर्चा गरिन् ।
उनले कैलालीमा कृषि उपजको उत्पादकत्व बृद्धिका लागि सिंचाईंको व्यवस्थाका साथै कुनै पनि सिजनमा मलखाद, वीऊबिजनको अभाव हुन नदिने प्रतिवद्धता व्यक्त गरिन् ।
उनले घुरही नदीमा पुल तथा धनगढीसम्म जोड्ने सडक कालोपत्रे गर्ने बताइन् ।

मंसिर १३ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार