प्रदेश नम्बर ७ का चार जिल्लामा आज मतदान
धनगढी । पहिलो चरणको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका लागि ७ नम्बर प्रदेशका चार जिल्लामा आज मतदान हुँदैछ ।
७ नम्बर प्रदेशको बैतडी, बझाङ, बाजुरा र दार्चुलामा आज हुने मतदानको सम्पूर्ण तयारी पुरा भएको क्षेत्रीय निर्वाचन कार्यालयले जानकारी दिएको छ । मतदान आज बिहान ७ बजेदेखि साझ ५ बजेसम्म हुने छ ।
पहिलो चरणमा हुने निर्वाचनलाई शान्तिपूर्ण र भयरहित सम्पन्न गर्न यहाँका सबै मतदान केन्द्रमा खटिएका निर्वाचन अधिकृतले दलहरूसित छलफल गरिसकेका छन् । ७ नम्बर प्रदेशका चार जिल्लाका पाँच सय ७१ मतदान केन्द्रमै कर्मचारी र सुरक्षाकर्मी पुगिसकेको जनाइएको छ ।
निर्वाचनलाई शान्तिपूर्ण ढंगले सम्पन्न गर्न जिल्लाभरको सुरक्षा व्यवस्था कडा पारिएको छ । सबै मतदान केन्द्रमा चारवटै सुरक्षा निकाय परिचालन गरिएको छ ।
नेपाल प्रहरीसँगै म्यादी, नेपाली सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका कर्मचारी परिचालन गरिएको जिल्ला सुरक्षा समन्वय समितिले जनाएको छ । सुरक्षा समितिका अनुसार स्थानीय तह निर्वाचन, पछिल्ला विकसित घटनाक्रम र सुरक्षा योजना तयार पारी तथा केन्द्रीय योजनाअनुसार विकसित घटना क्रमलाई आधार मानेर चार जिल्लाका पाँच सय ७१ मतदान केन्द्रमध्ये एक सय चार अति संवेदनशिल, एक सय २१ संवेदनसिल र तीन सय ४४ मतदान केन्द्र सामान्य किसिममा राखेर सुरक्षा अवस्था व्यवस्थापन गरिएको क्षेत्रीय प्रशासन कार्यालयले जनाएको छ ।
त्यस्तै, सुरक्षा संवेदनशीलतालाई हेरेर भारत सीमा जोडिएका दार्चुला, बैतडीका नाका बिहीबार बेलुकी ७ बजेदेखि ७२ घण्टाका लागि सिल गरिएका छन् । योसँगै सीमा क्षेत्रमा सुरक्षा निगरानीसमेत बढाएको छ ।
निर्वाचन कार्यालयका अनुसार यी चार जिल्लामा एक लाख ९० हजार चार सय ७३ पुरुष, एक लाख ९४ हजार चार सय ५९ महिला र पाँच तेस्रो लिंगी गरी तीन लाख ८४ हजार नौ सय ३५ जना मतदाता रहेका छन् ।
बाजुरामा ३५ हजार एक सय ४७ पुरुष, ३४ हजार छ सय ८५ महिला र दुई तेस्रो लिंगी गरी ६९ हजार आठ सय ३४, बझाङमा ५१ हजार दुई सय ७१ पुरुष, ५३ हजार तीन महिला र एक तेस्रो लिंगी गरी एक लाख चार हजार दुई सय ७५, दार्चुलामा ३९ हजार पाँच सय ८५ पुरुष र ३८ हजार नौ सय २६ महिला गरी ७८ हजार पाँच सय १२ र बैतडीमा ६४ हजार चार सय ७० पुरुष, ६७ हजार आठ सय ४५ महिला र दुई तेस्रो लिंगी गरी एक लाख ३२ हजार तीन सय १७ मतदाता रहेका छन् । चार जिल्लामा प्रतिनिधि सभाका लागि २१ र प्रदेश सभाका लागि ३९ जना गरि ६० जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् ।
निर्वाचन कार्यालयका अनुसार बाजुरामा एक सय, बझाङमा एक सय ६०, बैतडीमा एक सय ११ र दार्चुलामा दुई सय मतदान केन्द्र रहेका छन् ।