६ कार्तिक २०८१, मंगलवार

हरेक चुनावमा उनै मुद्दा



धनगढी । स्थानीय तहको निर्वाचनताका धनगढी उपमहानगरपालिकाका लागि प्रमुख पदका उम्मेदवारहरू प्राय:ले धनगढी विमानस्थलको स्तरोन्नती, गौरिफन्टा नाकाको स्तरोन्नती, नदी कटान नियन्त्रण, आर्थिक विशेष क्षेत्र, स्मार्टसिटी लगायतका विकासका एजेण्डा मतदातामाझ प्रस्तुत गरे ।
२०७० सालमा भएको संविधान सभा सदस्य निर्वाचनमा पनि काँग्रेस, एमाले लगायतका दलका उम्मेदवारका चुनावी मुद्दा यिनै थिए । दोस्रो संविधान सभा र गत स्थानीय तह निर्वाचनमा धनगढीमा काँग्रेस नै विजयी भएकाले यी सबै ऐजण्डा पुरा गर्ने अभिभारा पनि उसैमाथि आएको छ ।
अहिले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा पनि यिनै चुनावी मुद्दा दोहोरिएका छन् । ०७० को संविधान सभा सदस्य निर्वाचनमा काँग्रेस सभापति शेरबहादुर देउवा विजयी भएका थिए ।
अहिले काँग्रेसबाट यो क्षेत्र (५ नम्बर) मा प्रधानमन्त्री देउवापत्नी डाक्टर आरजु राणा देउवा उम्मेदवार छिन् । तर, अहिले पनि तिनै चुनावी मुद्दा वा एजेण्डा दोहोरिएका छन् ।
डाक्टर आरजु तथा उनको दल नेपाली काँग्रेसले मात्रै होइन, अरु दलले पनि यिनै मुद्दालाई चुनावी नारा बनाएका छन् । बाम गठबन्धनले ०७० सालमा मतदातामाझ प्रस्तुत गरिएका यी एजेण्डा पुरा गर्न नसकेको भन्दै काँग्रेसको आलोचना गर्ने अवसर बनाएको छ ।
‘चुनावको समयमा यो गर्छु, उ गर्छु भनेर सबैले भन्छन्, तर जितिसकेपछि ती सबै बिर्सिन्छन्’ आम मतदाताले घरदैलोमा मतमाग्न आउने उम्मेदवारसंग गर्ने साझा प्रश्न हो यो ।
धनगढीदेखि बेहडाबाबा मन्दिर जाने सडकखण्ड पीच गर्ने कार्य अझैं पुरा भएको छैन । त्यस्तै, मोहना नदी नियन्त्रण कार्यले गति लिन सकेको छैन । डुबानको समस्या उस्तै छ । भूमिहिनहरूको समस्यामा खासै सुधार आउन सकेको छैन । मतदाताहरू भन्छन्– चुनावका बेला आश्वासन तथा विकास योजनाको थुप्रो लगाउछन्, चुनावपछि ती सबै सिरानमा हालेर निदाउछन् ।

कात्तिक ०६ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार